जीतपुरसिमरा क्रिकेट कपः जनकपुर र भैरहवाबीचको खेल वर्षाका कारण स्थगित


eShilalekh

७ चैत्र २०८०, बुधबार १५:१९

सिमराः जीतपुरसिमरा टि–ट्वेन्टी क्रिकेट कप प्रतियोगिता अन्तर्गत बुधबारको खेल वर्षाले प्रभावित भएको छ । बिहानैदेखि परेको वर्षा नरोकिएपछि जनकपुर पिस फाउण्डेशन र खुकुरी क्रिकेट क्लब भैरहवाबीचको खेल स्थगित भएको हो ।

आयोजक अभियान नेपालका संरक्षक त्रिलोक बिक्रम शाहले वर्षाका कारण प्रभावित भएको खेल बिहीबार हुने जानकारी दिए । बर्षा नरोकिएका कारण बुधबारको खेल बिहीबार र बिहीबारको खेललाई शुक्रबार सारिएको शाहले बताए ।

राउण्ड रोबिनका आधारमा संचालित प्रतियोगितामा समूह ‘बी’ को दुई खेल बाँकी छ । यस समूहमा मकवानपुर, जनकपुर र भैरहवा छन् । समूह ‘बी’ को मंगलबार सम्पन्न पहिलो खेलमा मकवानपुरले जनकपुरलाई ३१ रनले पराजित गरेको थियो । समूहको दोस्रो खेलमा जनकपुर र भैरहवा भिड्नेछन् भने तेस्रो खेलमा मकवानपुर र भैरहवाबीच प्रतिस्पर्धा हुनेछ ।

यस समूहको विजेताले समूह ‘ए’ को विजेता पर्सा क्रिकेट संघसंग चैत्र १० गते फाइनल खेल्नेछ । समूह ‘ए’ बाट लगातार दुई खेल जित्दै पर्सा यसअघिनै फाइनलमा प्रवेश गरिसकेको छ । पर्साले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लब र कलैया क्रिकेट क्लबलाई पराजित गरेको थियो ।

अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्