जीतपुरसिमरा क्रिकेट क्लबः जनकपुर ४८ रनले बिजयी, भैरहवा पराजित


eShilalekh

८ चैत्र २०८०, बिहीबार १९:३०

सिमराः जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।

वर्षाका कारण एक दिन पछाडी सारिएको खेलमा जनकपुरले टस जितेर ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३२ रन जोडेको थियो । जनकपुरका लागि हिमांशु दत्तले २५ बलमा ४७ रन बनाए । ओपनरका रुपमा आएका दत्तले दुई छक्का र पाँच चौका प्रहार गरेका थिए ।

यसैगरी जनकपुरका लागि अखिलेश ठाकुरले २५, रुपेश यादवले अविजित १८, चन्दन यादवले १७ र पर्शुराम यादवले १४ रन बनाए । भैरहवाका सन्तोष यादवले चार विकेट लिए । चार ओभर बलिङ गर्दै यादवले २२ रन खर्चेर चार विकेट हात पारेका थिए । भैरहवाका अजय चौहानले दुई र इकलख वर्सीले एक विकेट लिए ।

जनकपुरले दिएको १३३ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भैरहवाले १८ ओभरमा ९ विकेट गुमाउँदै ८४ रन मात्रै जोड्न सफल भयो । भैरहवाका लागि अमर मिश्रले २५, प्रकाश गिरीले १४, सन्तोष यादवले १३, मनिष थापाले १२ र निश्चल चौधरीले १० रन बनाए । अन्तिम विकेटका रुपमा रहेका महेश भार घाइते भएका कारण भैरहवाले ९ विकेटमै इनिङ समाप्तिको घोषणा गरेपछि जनकपुर ४८ रनले बिजयी भएको हो ।

जनकपुरका रुपेश यादव, रोहन यादव र अभिजित मण्लले समान दुई विकेट लिए भने बिशाल सुस्लिङ, साइमोन रोय, बी धवन सहनीले समान एक विकेट हात पारे । जनकपुरका कप्तान दत्त ‘शुभारम्भ प्लेयर अफ दि म्याच’ घोषित भए । उनलाई जीतपुरसिमरा उपमहानगरपालिका १४ की वडाध्यक्ष चयन गुरुङले पुरस्कृत गरेकी थिईन् ।

जीतसंगै जनकपुरले प्रतियोगिताको फाइनलमा पुग्ने आशा जिवित राखेको छ । पहिलो खेलमा मकवानपुरसंग ३१ रनले पराजित भएको जनकपुरलाई प्रतियोगिताको उपाधि होडमा उभिन भैरहवाविरुद्ध फराकिलो जीत आवश्यक थियो ।

अब भैरहवालाई पनि प्रतियोगिताको फाइनलमा पुग्न समूह ‘बी’ को अन्तिम खेलमा शुक्रबार मकवानपुरलाई फराकिलो जीत निकाल्नुपर्ने हुन्छ । अन्तिम खेलमा भैरहवा बिजयी भए रनरेटका आधारमा फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । तर मकवानपुरले जीत हात पारे समूह विजेता हुँदै उसले पर्सा क्रिकेट संघसंग फाइनल खेल्नेछ ।

आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लब र कलैया क्रिकेट क्लबविरुद्ध जीत निकाल्दै पर्सा फाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिता फाइनल खेल चैत्र १० गते हुनेछ । अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्