परवानीपुर गोल्डकपः उपाधिका लागि वीरगन्ज र हेटौंडा भिड्ने


eShilalekh

८ चैत्र २०८०, बिहीबार २०:०१

सिमराः परवानीपुर गोल्डकपको तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता वीरगन्ज युनाइटेड क्लब र हेटौंडा फूटबल एकेडेमी भिड्ने भएका छन् । परवानीपुरमा बिहीबार भएको सेमिफाइनल खेलमा जीत निकाल्दै दुवै टिमले उपाधि भिडन्त पक्का गरेका हुन् ।

वर्षाका कारण बुधवारको खेल स्थगित भएपछि दुवै सेमिफाइनल बिहीबार भएको थियो । पहिलो सेमिफाइनल खेलमा वीरगन्ज युनाइटेड क्लबले वीरगन्ज युथ एकेडेमीलाई सडन डेथमा पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक भिडन्तको निर्धारित समयमा दुवै टिमले २–२ को बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा समेत ३–३ को बराबर भएपछि वीरगन्ज युनाइटेडले सडन डेथमा बाजी मारेको हो । वीरगन्ज अघिल्लो संस्करणको विजेता पनि हो । वीरगन्जको जीतमा उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक दिलमणी चौधरी प्लेयर अफ दि म्याच घोषित भए । उनलाई जीतेन्द्र यादवले पुरस्कृत गरे ।

यता दोस्रो सेमिफाइनल खेलमा हेटौंडा फूटबल एकेडेमीले बागमती फूटबल क्लबलाई २–१ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । खेलको २७ औं मिनेटमा प्रकाश पुनले पेनाल्टीमार्फत गोल गर्दै हेटौंडालाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३६औं मिनेटमा दिवस श्रेष्ठले गोल गर्दै हेटौंडाको अग्रता दोब्बर पारे ।

दवावमा रहेको बागमतीले थुप्रै अवसर पाएपनि सदुपयोग गर्न सकेन । खेलको इन्जुरी समयमा कपिल मगरले एक फर्काएपनि टिमको हार टार्न सकेनन् । हेटौंडाका कप्तान प्रताप तामाङ प्लेयर अफ दि म्याच घोषित भए । उनलाई नेकपा एमालेका युवा नेता मोबिन आलमले पुरस्कृत गरेका थिए ।

वीरगन्ज र हेटौंडाबीच शनिबार उपाधि भिडन्त हुनेछ । यसअघि शुक्रबार निजगढ र वीरगन्जका महिला खेलाडीबीच मैत्रीपूर्ण खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्