मकवानपुर फाइनलमा, उपाधिका लागि पर्सासंग भिड्ने


eShilalekh

९ चैत्र २०८०, शुक्रबार १८:१७

सिमराः जीतपुरसिमरा टिट्वेन्टी क्रिकेट कप प्रतियोगिताको उपाधिका लागि मकवानपुर क्रिकेट संघ र पर्सा क्रिकेट संघ भिड्ने भएका छन् । समूह ‘बी’ को अन्तिम खेलमा शुक्रवार दोस्रो जीत निकाल्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो ।

मकवानपुरले अब उपाधिका लागि शनिबार पर्सासंग खेल्नेछ । पर्सा पनि दुई खेल जित्दै समूह ‘ए’ को विजेताको रुपमा फाइनल प्रवेश गरिसकेको छ । पर्साले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लब ७७ रन र कलैया क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गरेको थियो ।

यता समूह चरणको पहिलो खेलमा जनकपुरमाथि ३१ रनको जीत निकालेको मकवानपुरले दोस्रो जीत दर्ता गर्ने क्रममा खुकुरी क्रिकेट क्लब भैरहवालाई १५ रनले पराजित गरेको हो । टस हारेर व्याटिङको निम्तो पाएको मकवानपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन जोडेको थियो ।

मकवानपुरका लागि तक्षक सिम्ख्डाले विष्फोटक पालि खेल्दै ५४ रन बनाए । उनले २४ बलमा ६ छक्का र एक चौका प्रहार गरे । यसैगरी मकवानपुरका गौरव खड्काले २७, युविन बुढाथोकीले २१, बिशाल फुयालले १९ र सक्षम वस्ताकोटीले ११ रन बनाए । भैरहवाका रोशनलाल गुप्ताले चार ओभर बलिङ गर्दै ३१ रन खर्चिएर तीन विकेट लिए भने अजयकुमार चौहानले दुई र सन्तोष यादवले एक विकेट हात पारे ।

रनरेटका आधारमा फाइनलमा पुग्न मकवानपुरले दिएको १४९ रनको लक्ष्य १४.५ ओभरमै भेट्टाउनुपर्ने बाध्यताका साथ मैदानमा उत्रिएको भैरहवाले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३३ मात्र रन जोड्न सफल भयो । भैरहवाका रोशनलाल गुप्ताले २८, प्रज्वल थापाले २१, प्रकाश गिरी र अजय चौहानले समान १९ रन बनाए । मकवानपुरका सुवर्ण भट्टले तीन, पियुश शर्मा र बिशाल फुयालले समान २–२, समिर चौलागाई र अशिम श्रेष्ठले १–१ विकेट हात पारे ।

भैरहवाले १४.५ ओरभमा लक्ष्य प्राप्त गरेको भए रनरेटका आधारमा समूह विजेता बन्दै फाइनलमा प्रवेश गर्ने थियो भने १६ ओभरमा मकवानपुरलाई पराजित गरेको जनकपुर पेस फाउण्डेशन अन्तिम दुईमा प्रवेश गर्ने थियो । समूह ‘बी’ को यसअघिका खेलमा मकवानपुरले जनकपुरलाई ३१ रन र जनकपुरले भैरहवालाई ४८ रनले पराजित गर्दै समान २–२ अंक बटुलेका थिए । समूह ‘बी’ को अन्तिम खेलबाट फाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।

खेलको प्लेयर अफ दि म्याच मकवानपुरका तक्षक सिम्ख्डा घोषित भए । उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले पुरस्कृत गरेका थिए । अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगिताको उपाधि भिडन्त शनिबार हुनेछ । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्