वीरगन्ज युनाइटेड क्लबद्वारा उपाधि रक्षा


eShilalekh

११ चैत्र २०८०, आईतवार ०९:२९

सिमरा: वीरगन्ज युनाइटेड क्लबले तेस्रो परवानिपुर गोल्डकपको उपाधि उचालेको छ । हेटौंडा फूटबल एकेडेमीलाई टाइब्रेकरमा ४-३ ले स्तब्ध पार्दै वीरगन्जले उपाधि रक्षा गरेको हो ।

वीरगन्ज युनाइटेडले दोस्रो संस्करणको उपाधि समेत जितेको थियो । निर्धारित समयमा दुबै टिमले १-१ को बराबरी खेलेपछि नतिजा टाइब्रेकरबाट निकालिएको हो ।

खेलको ३०औं मिनेटमा वीरगन्जका उदितनारायण चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेलको ८५औं मिनेट हेटौंडाका सखिल गुरुङले बराबरी गोल फर्काएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

उपाधि विजेता वीरगन्जले दुई लाख र उपविजेता हेटौंडाले एक लाख नगद प्राप्त गरेको छ । वीरगन्जका अमर डंगोल प्लेयर अफ दि टुर्नामेन्ट घोषित भए । उनले स्कुटर प्राप्त गरेका छन् ।

यसैगरी विधागततर्फको सबै पुरस्कार वीरगन्जका खेलाडीले पाएका छन् । उत्कृष्ट गोलरक्षकको पुरस्कार दिलमणी चौधरी प्राप्त गर्दा  संजय चौधरी उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर बिपिन दुम्सी मगर, सर्वाधिक गोलकर्ता उदितनारायण चौधरी, उत्कृष्ट प्रशिक्षक रामकिशोर धामीले पाएका छन् । फाइनल खेलको प्लेयर अफ दि म्याच हेटौंडाका सखिल गुरुङ घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीलाई परवानिपुर गाउँपालिकाका अध्यक्ष राम क्षत्री प्रसाद कुर्मीलगायतले पुरस्कार वितरण गरेका थिए । शक्ति युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्