प्रथम पथलैया कप सुरु, उद्घाटन खेलमा महेन्द्रनगर विजयी


eShilalekh

१ माघ २०७८, शनिबार २२:३६

पथलैया: बाराको पथलैयामा सुरु भएको प्रथम पथलैया कप फूटवल प्रतियोगिताको उद्घाटन खेलमा महेन्द्रनगर युवा क्लब, महेन्द्रनगर विजयी भएको छ । पथलैयास्थित श्रीकृष्ण मन्दिर मैदानमा भएको खेलमा आयोजक श्रीकृष्ण युवा क्लबलाई २-१ ले पराजित गर्दै महेन्द्रनगरले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

महेन्द्रनगरको जितमा आकाश राना एक्लैले दुई गोल गरे । आयोजक क्लबका लागि आयुश थापाले एक गोल गरे । खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा आयोजक क्लबले उद्घाटन खेलमै पराजय भोग्न बाध्य भएको हो ।

आयोजक क्लबका आयुशले खेलको १७औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । निर्धारित ६० मिनेटको खेलमा आयोजकले लिएको अग्रता उल्टाउदै महेन्द्रनगरले जित हात पारेको हो । खेलको ३८औं महेन्द्रनगरका लागि बराबरी गोल फर्काएका आकाशले खेलको ईन्जुरी समयमा बिजयी गोल गरेका हुन् ।

दोस्रो हाफमा थपिएको २ मिनेटको ईन्जुरी समयमा आकाशले गोल गर्दै टिमलाई जित दिलाएका हुन । जितसंगै महेन्द्रनगर प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आईतवार कोसेली युवा क्लब हुलास र मौवादेवी युवा क्लब, बडहर्वाबीच खेल हुनेछ ।

यसअघि प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उमपहानगरपालिका वडा नं. १ का वडाध्यक्ष हिराबहादुर गुरुङले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै गुरुङले खेलकुदको विकासमा आफू प्रतिबद्ध रहेको बताए । लामो समयपछि पथलैयामा फूटवल प्रतियोगिता आयोजना गर्न उत्साहित युवालाई वडा कार्यालयले सहयोग गरेको बताएका छन् ।

प्रतियोगिता आयोजना गर्न वडा कार्यालय मुख्य सहयोगीको भुमिकामा छ । वडा कार्यालयको सहयोगमा श्रीकृष्ण युवा क्लबले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिका सदस्य सुभद्रा न्यौपाने, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराका प्रध्यानाध्यापक शंकर आचार्य, पथलैयाका प्रध्यानाध्यापक शम्भु मण्डल, संचारकर्मी प्रकाश लम्सालले मन्तब्य राखेका थिए ।

आयोजक क्लबका दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा अनेरस्ववियुका केन्द्रीय सचिवालय सदस्य एवम् नेपाल बाल संगठन बाराका सभापति त्रिलोक विक्रम शाह, होटल तथा पर्यटन व्यवसायी संघ बाराका कार्यबाहक अध्यक्ष अर्जुन लम्साल, नेपाल तेक्वान्दो महासंघ, प्रदेश २ का महासचिव राजकुमार लामा, विद्यार्थी नेता मनिस प्याकुरेल, नेपाली कांग्रेस जीतपुरसिमरा वडा नं. २ का वडासभापति सन्तोष कार्की, सहप्रायोजक पिआरडी फुड एण्ड वेभरेज प्रा.लि, जेएस पानीका प्रतिनिधि विकास धौजु, पथलैयाका युवा समाजसेवी टिकादास मुल्मी, मदन कंसकार, तोयानाथ खनाल, कल्याण आले, राजकुमार थापामगर, मनिष धौजु, अजयसिंह लामा, दीपक बस्नेत, श्री लामिछाने, राजकुमार थापालगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन आयोजक क्लबका बबिन सुब्बाले गरेका थिए ।

प्रतियोगितामा जिल्लाभरीको १२ टिमको सहभागिता रहेको छ । आयोजक क्लबका अनुसार प्रतियोगितामा सुन्दरबस्ती युवा क्लब, कोसेली फूटवल क्लब, मौवादेवी युवा क्लब, सहयात्री युवा क्लब, सिमरा युनाईटेड, बारा ११ फूटवल क्लब, दिव्यज्योती क्लब, निजगढ फूटवल क्लब, अमलेखगंज फूटवल क्लब र सहयोगी फूटवल क्लब कलैया सहभागी छन् ।

प्रतियोगिताको बिजेताले ५० हजार र उपबिजेताले २५ हजार प्राप्त गर्नेछ । प्रतियोगितालाई निजगढ नगरपालिका, जगदम्बा स्टील्स्, हुलास स्टील्स्, अल्पाईन अस्पताल, दिव्यज्योती क्लब, नयाँ गोरेटो पुर्नस्थापना केन्द्र, लम्साल होटल, मुनसाईन टेक्नोलोजी, एस बेकरी, याजाद फुड नेपाल प्रा.लि, आलिम हार्डवेयर, लक्ष्मी आयल स्टोर्स, जय स्यार्सेकालिका, आकाश पेट्रोलियम प्रा.लिलगायत विभिन्न सामाजिक तथा व्यवसायिक संघसंस्थाले सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्