होली कपको उपाधि टिम डाँफेलाई


eShilalekh

११ चैत्र २०८०, आईतवार ०९:५४

सिमरा: होली पर्वको अवसरमा नव जन जागृति युवा क्लब भेट्रानले आयोजना गरेको होली कपको उपाधि टिम डाँफेले जितेको छ । सिमरा रंगशालामा भएको खेलमा डाँफेले टिम लालीगुराँसलाई पराजित गर्दै होली कप जितेको हो ।

डाँफेले लालीगुँरासलाई टाइब्रेकरमा ४-३ ले पराजित गरेको हो । निर्धारित समयमा दुबै टिमले बराबरी खेलेपछी नतिजा टाइब्रेकरबाट निकालिएको हो ।

यसअघि टिम डाँफेले टिम कस्तुरी र टिम लालीगुँरासले टिम सिम्रीकलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । नव जनजागृती युवा क्लबको भेट्रान खेलाडीलाई समूहमा विभाजन गरि प्रतियोगिताको आयोजना गरिएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका नगर प्रमुख राजन पौडेलले रेफ्री द्वारिका श्रेष्ठलाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गरेका थिए । विजेता तथा उपविजेता खेलाडीलाई जीतपुरसिमरा १ का वडाध्यक्ष हिराबहादुर गुरुङ, नव जन जागृती क्लबका अध्यक्ष रामचन्द्र लामा, उपाध्यक्ष शंकर थापा, जीतपुरसिमरा १ का वडासदस्य अमन लामा, धनलाल श्रेष्ठ, दीपक भट्टराईलगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको सहजीकरण मदन कंसाकारले गरेका थिए ।

सोही अवसरमा खेलाडीहरुले अबिर लगाएर होलीको शुभकामना आदनप्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्