स्पट फिक्सिङमा बाराका आदिल अन्सारीले पाए सफाइ


eShilalekh

१३ चैत्र २०८०, मंगलवार १९:४४

सिमराः नेपाली राष्ट्रिय टोलीको अलराउण्डरका रुपमा स्थापित हुन लागिरहेकै बेला स्पट फिक्सिङको आरोप लागेका बाराका आदिल अन्सारीले सफाइ पाएका छन् । अन्सारीलाई काठमाडौं जिल्ला अदालतले अभियोग दावी नपुगेको भन्दै सफाइ दिएको हो ।

सिम्रौनगढ नगरपालिका ३ किशुनपुर घर भएका अंसारीमाथि गत वर्ष सम्पन्न नेपाल टी-२० लिगमा बलिङ गर्दा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो । जनकपुर रोयल्सबाट खेलेका उनले रकम लिएर नो बल फ्याकेको भन्दै उजुरी परेको थियो ।

उक्त स्पट फिक्सिङको आरोपमा उनी गत वर्षको माघ ९ गते सप्तरीबाट पक्राउ परेका थिए । पक्राउ परेको एक महिनामा उनि तीन लाख धरौटीमा छुटे । त्यसयता उनीमाथि लागेको आरोप के हुन्छ भन्ने चर्चा चलिरहेको थियो ।

नेपाली राष्ट्रिय टिमभित्र ‘म्याच विनर’ का उदाईरहेका आदिललाई काठमाडौं जिल्ला अदालतका न्यायाधिस कमलप्रसाद पोखरेलको एकल इजलासले सफाइ दिएको हो । उनिमाथि लागेको अभियोग पुष्टि हुने दावी नपुगेको ठहर गरिएको छ । आदिलसंगै सोही आरोपमा मुद्धा चलाइएका पूर्व राष्ट्रिय किर्तिमानी खेलाडी महबुब आलम र अन्य तीन जनाले समेत सफाइ पाएका छन् ।

आदिलले सफाइ पाएसंगै नेपाली क्रिकेटलाई नजिकबाट नियाल्नेहरु खुशी देखिएका छन् । आदिललाई तत्काल राष्ट्रिय टिममा ल्याउनुपर्ने र विश्वकपको तयारी गनुपर्ने चर्चा चल्न थालेको छ । आदिल क्रिकेट खेलप्रेमीमाझ चर्चित छन् । आदिलले प्रहार गर्ने हेलिकप्टर सट निकै चर्चामा छ । उनले भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीकै शैलीमा उक्त सट प्रहार गर्ने गरेका थिए ।

२०२२ जुन ११ मा अमेरिकाविरुद्ध एक दिवसिय खेलमा डेब्यु गरेका आदिलले १६ जुलाई २०२२ मा नामिबियाविरुद्ध अन्तिम खेल खेलेका थिए । यसैगरी पपुवान्युगिनीविरुद्ध सन् २०२२ मार्च ३१ मा डेब्यु गरेका उनले २०२२ अगस्ट ३० मा केन्याविरुद्धअन्तिम खेल खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्