आयरल्याण्ड वल्भ्सविरुद्ध खेल्ने नेपाल ‘ए’ टोलीमा बारा र पर्साका तीन खेलाडी


eShilalekh

१३ चैत्र २०८०, मंगलवार २१:२३

सिमराः आयरल्याण्ड वल्भ्सविरुद्ध हुने टीट्वेन्टी र एक दिवसिय खेलका लागि घोषणा गरिएको नेपालको ‘ए’ को टोलीमा बारा र पर्साका तीन खेलाडी परेका छन् । चैत तेस्रो सातादेखि सुरु हुने टीट्वेन्टी र एक दिवसिय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टोली घोषणा गरेको हो ।

विनोद भण्डारीको कप्तानीमा घोषणा गरिएको एक दिवसिय टोलीमा पर्साका रञ्जित कुमारले अवसर पाएका छन् । मधेस प्रदेशबाट घरेलु क्रिकेट खेल्दै आएका लेफ्ट आर्म स्पिनर रञ्जितलाई क्यानले एक दिवसिय टोलीमा समावेश गरेको हो ।

यसैगरी टीट्वेन्टी टोलीमा बाराका पवन सर्राफ परेका छन् । अन्तर्राष्ट्रिय अनुभव बटुलिसकेका सर्राफलाई क्यानले टीट्वेन्टी टोलीमा राखेको हो । उनले फेब्रुअरीमा सम्पन्न क्यानडाविरुद्धको एक दिवसिय सिरिज खेलेका थिए ।

टोलीमा पर्नेमा अर्का खेलाडी छन् पर्साका आरिफ शेख । क्यानले आरिफलाई टीट्वेन्टी र एक दिवसिय दुवै खेलका लागि टोलीमा राखेको छ । आरिफले ५१ वटा अन्तर्राष्ट्रिय एक दिवसिय र ३८ वटा टीट्वेन्टी खेलिसकेका छन् ।

आयरल्याण्ड वल्भ्सविरुद्ध सिनियर टोलीबाट यतिबेला बाराका अनिलकुमार साह र आशिफ शेख खेलिरहेका छन् । सिनियर टोलीको खेल सकिएपछि ‘ए’ टिमले चैत १५, १६ र १८ गते टीट्वेन्टी तथा २१, २३ र २५ मा एक दिवसिय सिरिज खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्