एमाले बाराको ११औं अधिवेशन सुरु, आजदेखी नेतृत्व चयनको प्रक्रिया थालिने


eShilalekh

२० चैत्र २०८०, मंगलवार ०७:०५

कलैया: नेकपा एमाले बाराको ११औं अधिवेशन सुरु भएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अधिवेशनको उद्घाटन गरेका हुन् ।

अधिवेशनको उद्घाटन गर्दै नेता पोखरेलले एमाले सरकारमा आएसंगै मधेसको विकासले पुनः गति लिने बताए । एमालेले मधेसको विकासलाई प्राथमिकतामा राखेको बताउँदै नेता पोखरेलले अबको सरकारले त्यस्ता कार्यलाई गति दिनका लागि काम गर्ने बताए ।

पूर्वउपप्रधान एवम् रक्षामन्त्री समेत रहेका पोखरेलले वर्तमान सरकारमा मधेसबाट तीन महत्त्वपूर्ण मन्त्रालयमा प्रतिनिधित्व रहेको भन्दै कृषि, पूर्वाधार र राष्ट्रिय गौरवका आयोजनाका काम उत्साहजनक रुपमा अघि बढ्ने बताए ।

एमालेलाई सिध्याउने रणनीतिका साथ बनेको तत्कालिन गठबन्धन आफ्नै बोझले ढलेपछी पछिल्लो समिकरण तयार भएको भन्दै पोखरेलले आगामी निर्वाचनमा एमाले थप शक्तिशाली भएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।

अधिवेशनको उद्घाटन समारोहमा एमाले सचिव एवम् भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, केन्द्रीय सचिव एवम् मधेस इन्चार्ज योगेश भट्टराई, पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेल, पोलिटव्युरो सदस्य एवम् कृषि मन्त्री ज्वालाकुमारी साह, पोलिटव्युरो सदस्य एवम् सांसद अच्युत मैनाली, एमाले प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, सचिव मनोज पौडेललगायतले मन्तव्य राखेका थिए ।

एमाले बाराका अध्यक्ष विनोद साहको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन समारोहमा उपाध्यक्ष टिना सुवेदीले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव अध्यानन्द पाण्डेले सहजीकरण गरेका थिए ।

उद्घाटन सम्पन्न भएसंगै मंगलबारदेखि बन्दसत्र सुरु हुँदैछ । जानकी सिनेमा हलमा हुने बन्द सत्रले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको बन्दसत्रमा करिब आठ सय प्रतिनिधि सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्