बकुलिया भवानीपुर गोल्डकपः आयोजक विजयी


eShilalekh

२४ चैत्र २०८०, शनिबार १४:५६

बाराः पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० प्रतियोगिताको उपाधी आयोजक जन कल्याणकारी क्लब बकुलिया भवानीपुरले उचालेको छ । आयोजक जन कल्याणकारी क्लब बकुलिया भवानीपुरले एभरेष्ट फुटबल सर्लाहीलाई ४–२ ले पराजित गर्दै उपाधी उचालेको हो ।

आयोजकको जीतमा खेलाडी आदित्य साक्य, सुशान्त चौधरी, मोहित गुरुङ र अजित चौधरीले एक एक गोल गरेका थिए । बकुलियाविरुद्ध पाएको केही राम्रो अवसर चुकाउन पुग्दा सर्लाही प्रतियोगिताको उपविजेतामा सिमित हुन पुग्यो ।

उपाधी विजेता बकुलियाले नगद रु २ लाख र उपविजेतासर्लाहीले नगद रु १ लाख सहित प्रमाणपत्र, मेडल र सिल्ड प्राप्त गरेको छ ।

जन जनकल्याकारी क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा भएको खेलको मेन अफ दि म्याच आदित्य साक्य घोषित भए । प्रतियोगिता भरको उत्कृष्ट फर्वाड खेलाडी सर्लाहीका क्षितिज भण्डारी, उत्कृष्ट डिफेन्स खेलाडी आयोजक क्लबका अजय चौधरी, उत्कृष्ट गोलरक्षक आयोजक क्लबका युनेस चौधरी, उत्कृष्ट मिडफिल्डर आयोजक क्लबका मोहित गुरुङ, उत्कृष्ट कोच आयोजक क्लबका घनश्याम चौधरी, प्रतियोगिताको उदयीमान खेलाडीको रुपमा आयोजकको अजित चौधरी र प्रतियोगितको उत्कृष्ट खेलाडीको रुपमा आयोजक क्लबका असमित चौधरी घोषित भएका थिए ।

पाँचौ बकुलिया भवानीपुर गोल्डकप २०८० को समापन समाह्रोहमा राष्ट्रिय टिमका खेलाडी अजय चौधरीलाई सम्मान समेत गरिएको थियो । राधेश्याम चौधरीको अध्यक्षतामा सम्पन्न पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० प्रतियोगिताको फाईनल खेलको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल रहनु भएको थियो ।

कार्यक्रममा हरीपुर नगरपालिका सर्लाहीका नगर प्रमुख गोपाल पंजियार, समाजसेवी कृष्णा बर्त सिंह, सशस्त्र प्रहरी नं। ४० रिजर्भगण पुवालाका गणपति प्रहरी उपरिक्षक मोहन बहादुर क्षेत्री, सशस्त्र प्रहरी बल नेपाल बकुलिया भवानीपुरका प्रमुख प्रहरी नायब उपरिक्षक कुमार बराल, जीतपुरसिमरा उपमहानगरपालिका अन्तरगतका वडा कार्यालयका वडा अध्यक्षहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने लयागत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्