जीतपुरसिमरा गोल्डकपः उद्घाटन खेलमा आर्मी विजयी


eShilalekh

२५ चैत्र २०८०, आईतवार १२:४९

सिमराः १४ औं जीतपुरसिमरा गोल्डकपको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

वीरगञ्ज युनाईटेड क्लबलाई ३–२ ले स्तब्ध पार्दैै त्रिभुवन आर्मी क्लब शनिवारबाट शुरु भएको १४ औं जीतपुरसिमरा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

वीरगञ्जका लागि फागुराम चौधरीले पेनाल्टी मार्फत खेलको ४१ औं मिनटमा अग्रता बनाएका थिए । आर्मीका डिफेन्डर सुरज बस्नेतले वीरगञ्जका फागुरामलाई डिबक्स भित्र फाउल गरेपछि फिफा रेफ्री उमेश विंडारीले वीरगञ्जलाई पेनाल्टीको मौका दिएका थिए ।

आर्मीका कमलथापाले पहिलो हाल्फमै बराबरी गोल फर्काउँदै आर्मीका समर्थकलाई खुशी पारे । खेलको ४४ औं मिनटमा सुरज बस्नेतको कर्नर बललाई पेनाल्टी एरियामा सम्हाल्दै कमलले गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।

दोश्रो हाल्फमा वीरगञ्जविरुद्ध आर्मीले शुरुवाती अग्रता लियो । खेलको ६१औं मिनटमा आकर्षक फ्रि किक गोल गर्दै आर्मीका दिनेश हेम्जनले टिमलाई अग्रता दिलाएका थिए ।

करिब २२ यार्ड परबाट दिनेशले प्रहार गरेको फ्रि किकलाई वीरगञ्जका गोलरक्षक प्रमिजय गच्छदारले बचाउने कुनै अवसर पाएनन ।

शूरुवाती अग्रता उल्टिएपछि वीरगञ्जका लागि आक्रमक बनेका फागुराम चौधरीले व्यक्तिगत दोश्रो गोल गर्दै बराबरीमा ल्याएपनि जीतका लागि पर्याप्त बन्न सकेन । खेलको ८२औं मिनटमा आर्मीका गोलरक्षक विकेश कुथुलाई बिट गर्दै फागुरामले काउण्टर अट्याकमा गोल गरेका थिए ।

दोश्रो हाल्फको इन्ज्युरी समयमा आर्मीका लागि फतेमान घलेले निर्णायक गोल गरे । वीरगञ्जका डिफेन्डरहरुको गल्तीको सदुपयोग गर्दै फतेमानले दिनेश हेम्जनको क्रस बललाई सहजै गोलमा परिणत गरेका थिए ।

खेलको म्यान अफदि म्याच आर्मीका दिनेश हेम्जन घोषित भए । उनले शुभारम्भ कलेजले प्रयोजन गरेको १० हजार सहित ट्रफि प्राप्त गरे । आइतबार साविक विजेता चर्च ब्वाईज युनाईटेड र सिराहाको सलहेस युवा क्लब विचमा खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्