बलियो चर्च ब्वाइजविरुद्ध सिरहाको रोमाञ्चक जीत


eShilalekh

२५ चैत्र २०८०, आईतवार २३:०५

सिमराः डिफेण्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लबलाई पन्छाउँदै सिरहाको नवप्रवेशी टिम सलहेश युवा क्लबले १४औं जीतपुरसिमरा गोल्डकपमा बिजयी सुरुवात गरेको छ । सिमरा रंगशालामा भएको खेलमा सिरहाले चर्च ब्वाइजलाई ३–२ ले पराजित गरेको हो ।

‘ए’ डिभिजनको बलियो टिमविरुद्ध रोमाञ्चक जीत हात पारेसंगै सिरहा प्रतियागिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । राष्ट्रिय टिमका खेलाडी सुरज जिउ ठकुरी सम्मिलित चर्च ब्वाइजविरुद्ध सिरहाले उत्कृष्ट सुरुवात गरेको थियो । खेलको १४औं मिनेटमा सिरहाका लागि आशिष चापागाईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

सिरहाको अग्रता उल्टाउने अवसरको खोजीमा रहेको चर्च ब्वाइजले पहिलो हाफमा राम्रो प्रदर्शन गर्न सकेन । पहिलो हाफ पूर्ण नियन्त्रणमा लिएको सिरहाविरुद्ध चर्च ब्वाइजले ५१औं मिनेटमा बराबरी गोल फर्कायो । चर्च ब्वाइजका राजेश परियाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा केही लय बनाएपनि खेलको ६३औं मिनेटमा चर्च ब्वाइज पुनः पछि पर्यो । प्रवेश कुवँरले प्रहार गरेको बल चर्च ब्वाइजका डिफेण्डरले क्लियर गर्न खोज्दा आफ्नै पोष्ट भित्र पसेपछि सिरहा २–१ का साथ खेलमा फर्कियो । उच्च मनोबलका साथ मैदानमा उत्रिएको सिरहाको बेन्चलाईन समेत उक्त अप्रत्याशित गोलले उत्साहित देखिएका थिए ।

सिरहाविरुद्ध दवावमा देखिएको चर्च ब्वाइजले खेलको ७३औं पुनः अप्रत्याशित सफलता हात पार्यो । चर्च ब्वाइजका निरज चौधरीले ७३औं मिनेटमा गरेको कटब्याक सिरहाका डिफेन्डर कुलदीप कार्कीको खुट्टामा लाग्दै गोल भएपछि खेल रोमाञ्चक बन्न पुग्यो ।

तर अन्तिम समयमा शिशिर लेखीले निर्णायक गोल गर्दै सिरहालाई अन्तिम चारको यात्रा तय गराए । डिबक्स भित्र पाएको बललाई पोष्टको दिशा दिँदै लेखीले १३औं संस्करणको विजेता चर्च ब्वाइज घर फर्कन बाध्य तुल्याए । लेखी प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार राशीको ‘शुभारम्भ प्लेयर अफ दि म्याच’ हात पारे । उनलाई शुभारम्भ कलेजका प्रमुख शम्भु मण्डलले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तर्गत सोमबार विभागीय नेपाल एपीएफ क्लब र एन्फा मकवानपुरबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्