जीतपुरसिमरा गोल्डकपः एपीएफ सेमिफाइनलमा


eShilalekh

२६ चैत्र २०८०, सोमबार २२:४२

सिमराः विभागिय टिम नेपाल एपीएफ क्लब सिमरामा जारी १४औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आठौं विराट गोल्डकपमा मोरङसंग पराजित हुँदै बाहिरिएको एपीएफले जीतपुरसिमरा गोल्डकपमा सुखद् सुरुवात गर्ने क्रममा मकवानपुरलाई २–० ले पराजित गरेको हो ।

एपीएफको जीतमा बिके तामाङ र प्रदीप लामाले समान एक–एक गोल गरे । खेलको ३०औं मिनेटमा बिके तामाङको गोलबाट खेलमा अग्रता लिएपनि जीतका लागि एपीएफले अन्तिम समयसम्म संघर्ष गर्नुपर्यो ।

बलियो चुनौती पस्किएको मकवानपुरविरुद्ध बिकेले बिश्वास उदासको क्रस बललाई सदुपयोग गरे । विश्वासको ब्याक पासलाई बिकेले सानदार फिनिसिङ दिए । विपक्षी डिफेन्सको कमजोरीको फाइदा उठाउदै बिकेले गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा मकवानपुरविरुद्ध उस्तै लयमा उत्रिएको एपीएफले ६८औं मिनेटमा गोलअन्तर दोब्बर पार्यो । सुमन श्रेष्ठले प्रहार गरेको कर्नर बलमा प्रदीपले गोल गरेका थिए ।

बलियो एपीएफविरुद्ध राम्रो प्रदर्शन गरेपनि केही अवसर चुकाउन पुग्दा मकवानपुरको यात्रा पहिलो खेलमै टुंगिन पुग्यो । खेलको ‘शुभारम्भ प्लेयर अफ दि म्याच’ एपीएफका गोलरक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले १० हजार नगद हात पारे । उनलाई आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख कर अधिकृत राजकुमार खतिवडा र शुभारम्भ कलेजका अध्यक्ष लालप्रसाद पुडासैनीले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तर्गत मंगलबार अर्को विभागिय टिम त्रिभुवन आर्मीले मछिन्द्र फूटबल क्लबसंग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ । मछिन्द्र आठौं विराट गोल्डकपको विजेता हो ।

प्रतिक्रिया दिनुहोस्