जीतपुरसिमरा गोल्डकपः मच्छिन्द्र क्लब सेमिफाइनलमा


eShilalekh

२८ चैत्र २०८०, बुधबार १३:१७

सिमराः विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४औँ जितपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मच्छिन्द्रले आर्मीलाई १–० ले पराजित गरेको हो ।

मच्छिन्द्रको जितमा शौरभ लिम्बूले एक गोल गरे । लिम्बुले खेलको ६९औँ मिनेटमा गरेको एक गोल निर्णायक बन्यो । ६३औँ मिनेटमा अभिषेक गुरुङको स्थानमा मैदान प्रवेश गरेका लिम्बूले आर्मीका गोलरक्षक विकेश कुथुको गल्तीको फाइदा उठाउँदै सहजै गोल गरेका थिए ।

मैदानको मध्यभागबाट बलअघि बढाएका विमल घर्तीमगरको पासमा सौरभले डिबक्स बाहिरैबाट बललाई गोलपोष्टको दिशा दिएका थिए । मच्छिन्द्रको प्रयासलाई रोक्न डि–एरिया बाहिरै आइपुगेका आर्मीका गोलरक्षक कुथुलाई बिट गर्दै सौरभले सुन्दर गोल गरेका हुन ।

८८औँ मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर पार्ने मौका गुमायो । आर्मीका डिफेन्डर बिमल पाण्डेले मच्छिन्द्रका विमल घर्तीमगरलाई डिबक्सभित्र लडाएपछि एन्फा रेफ्री उमेश बिँडारीले मच्छिन्द्रलाई पेनाल्टीको मौका दिएका थिए । मच्छिन्द्रका देवेन्द्र तामाङको पेनाल्टी प्रहार क्रसबार माथिबाट बाहिरियो ।

प्रतिष्पर्धात्मक खेलमा दुवै टिमले आकर्षक अवसरहरु सिर्जना गरे पनि पहिलो गोलका लागि ६९ मिनेटसम्म कुर्नु परेको थियो ।
खेलको म्यान अफ दि म्याच मच्छिन्द्र फुटबल क्लबका मनीष डाँगी घोषित भए । उनले १० हजार नगद सहित ट्रफी प्राप्त गरे । बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जयसवाल र शुभारम्भ कलेजका निर्देशक अनिल चौधरीले म्यान अफ दि म्याचको पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताअन्तर्गत बुधबार आयोजक नवजनजागृति युवा क्लब सिमरा र नेपाल प्रहरीको विभागीय टोली नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्