जीतपुरसिमरा गोल्डकपः आयोजकलाई निराश पार्दै पुलिस सेमिफाइनलमा


eShilalekh

२९ चैत्र २०८०, बिहीबार १०:४३

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार राती भएको खेलमा पुलिसले आयोजक नव जनजागृती युवा क्लबलाई २–१ ले पराजित गरेको हो ।

आयोजकलाई घरेलु मैदानमा निराश पार्दै अन्तिम चारमा स्थान सुरक्षित गर्ने क्रममा पुलिसका उज्वल राईले दुई गोल गरे । आयोजकका लागि भने मोहित गुरुङले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक भिडन्तको तेस्रो मिनेटमै पुलिसले खेलमा अग्रता लिएको थियो । सुजन मगरले डिफेन्डरलाई बिट गर्दै निकालेको पासमा उज्वलले फिनिसिङ दिएका थिए । त्यसको दुई मिनेट बित्न नपाउँदै आयोजक खेलमा फर्कियो ।

पुलिसका निरज खड्काले मोहित गुरुङलाई डिबक्स भित्र लडाएपछि आयोजकले पेनाल्टी अवसर पाएको थियो । उक्त अवसरलाई मोहितले चुकाएनन् । पेनाल्टी गोलसंगै खेल १–१ को स्थितीमा पुग्यो ।

खेलको १९औं मिनेटमा उज्वलले दोस्रो गोल गरे । आयोजकका डिफेन्डरको कमजोरीको फाइदा उठाउदै उज्वलले खेल २–१ को स्थितीमा ल्याए । खेलमा अग्रता लिएपछि पुलिस रक्षात्मक देखियो ।

बलियो पुलिसविरुद्ध उत्कृष्ट खेल पस्किएको आयोजकले दोस्रो हाफमा आक्रामक खेल खेलेपनि स्कोर निकाल्न सकेन । खेलको म्यान अफ दि म्याच पुलिसका उज्वल राई घोषित भए । उनि शुभारम्भ प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार हात पारे ।

प्रतियोगिता अन्तर्गत विहिबार विभागिय टिम नेपाल एपिएफ क्लब र फ्रेण्ड्स क्लबको बिचमा अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्