हावाहुरीका कारण एपीएफ र फ्रेण्ड्सबीचको खेल बीचमै स्थगित, शुक्रबार बिहान ८ः३० बजे हुने


eShilalekh

२९ चैत्र २०८०, बिहीबार २३:४९

सिमराः जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकप अन्तर्गत बिहीबार नेपाल एपीएफ क्लब र फ्रेण्ड्स क्लबबीचको खेल हावाहुरीका कारण स्थगित भएको छ । सेमिफाइनल प्रवेशका लागि दुई टिमबीच भईरहेको खेल ५८औं मिनेटमा स्थगित भएको हो ।

ठुलो गतिमा हावा चल्न थालेपछि रेफ्री उमेश बिडारीले खेल रोकेका थिए । हावाहुरीका कारण प्रभावित खेल शुक्रबार बिहान ८ः३० बजे हुने आयोजक नव जनजागृति युवा क्लबले जनाएको छ ।

‘अचानक आएको ठुलो हावाहुरीका कारण अफिसियलले खेल रोक्ने निर्णय लिनुभयो’ आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले भने ‘स्थगित भएको खेल शुक्रबार बिहान संचालन गर्नेछौं ।’ स्थगित भएको समयबाटै खेल संचालन हुने लामाले जानकारी दिए ।

तिव्र गतिमा आएको हुरीका कारण सिमरा रंगशालामा विज्ञापन प्रयोजनले राखिएका अधिकांश बोर्डहरु ढलेका छन् भने फुड फेस्टिभलका टेन्टहरुमा क्षति पुगेको छ । सो क्रममा हावाहुरीले उडाएको बोर्डले लागेर खेल हेर्न पुगेका एक दर्शक घाइते भएका हुन् ।

यसअघि दुई टिमबीच भएको ५८ मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो । खेलको ११ औं मिनेटमा एपीएफका बुद्धिमान राईले राम्रो अवसर गुमाए । शरण बस्नेतले डिबक्स भित्र मिलाएको पासमा राईको प्रहार फितलो रहन पुग्यो ।

त्यसको केही मिनेटमै फ्रेण्ड्सले पनि अवसर खेर फाल्यो । फ्रेण्ड्सका साइमन लिम्बुले वन भर्सेस वनको स्थितीमा चुके । उनको फितलो प्रहारलाई एपीएफका डिफेण्डरले सुमन श्रेष्ठले क्लियर गर्दा फ्रेण्ड्सले अग्रता लिने अवसर गुमायो ।

प्रतिस्प्र्धात्मक खेलको पहिलो हाफमा केही राम्रा अवसर खेल फालेका दुबै टिम दोस्रो हाफमा आक्रामक देखिएका थिए । तर हावाहुरी बाधक बनेपछि अन्तिम क्वाटरफाइनल खेल एक दिन पछि सार्न आयोजक बाध्य बन्यो ।

प्रतिक्रिया दिनुहोस्