एपीएफ जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा


eShilalekh

३० चैत्र २०८०, शुक्रबार ११:४८

सिमराः विभागिय टिम नेपाल एपीएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रबार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई २-० ले पराजित गर्दै एपीएफ अन्तिम चारमा प्रवेश गरेको हो ।

एपीएफको जीतमा बुद्धिमान राईले एक गोल गरे भने अर्को गोल अनन्त तामाङबाट आत्मघाती हुन पुग्यो । हावाहुरीका कारण बिहीबार राती ५८औं मिनेटमा स्थगित भएको खेल बिहान खेलाइएको थियो ।

स्थगित गरिएको समयबाटै खेलाइएको खेलको ७३औं मिनेटमा बुद्धिमान राईले एपीएफलाई अग्रता दिलाएका थिए । अनिश महर्जनको क्रस बललाई सदुपयोग गर्दै बुद्धिमानले सुन्दर गोल गरेका थिए ।

त्यसलगत्तै एपीएफले अर्को गोल गर्दै अग्रता दोब्बर पार्यो । खेलको ७५औं मिनेटमा प्रदीप तामाङको क्रस बललाई अनन्तले क्लियर गर्न खोज्दा गोल हुन पुगेको थियो । लगातार दुई गोल खान पुगेको फ्रेण्ड्स अन्तिम समयमा दवावमा देखियो । उसले खासै अवसर सिर्जना गर्न सकेन ।

एपीएफको जीतमा उत्कृष्ट प्रदर्शन गरेका बुद्धिमान प्लेयर अफ दि म्याच घोषित भए । उनले शुभारम्भ कलेजले प्रायोजन गरेको १० हजार राशीको प्लेयर अफ दि म्याचको पुरस्कार हात पारे ।

एपीएफको जीतसंगै जीतपुरसिमरा गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ । एपीएफले अब फाइनल प्रवेशका लागि शनिबार नेपाल पुलिस क्लबसंग खेल्नेछ । प्रतियोगिता अन्तर्गत शुक्रबार राती हुने पहिलो सेमिफाइनल खेलमा सिरहाको सलहेश युवा क्लब र मछिन्द्र फूटबल क्लब भिड्नेछन् ।

मछिन्द्रले त्रिभुवन आर्मी क्लब र सलहेशले साविक विजेता चर्च ब्वाईज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको टाइटर स्पन्सरमा आयोजित प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्