जीतपुरसिमरा गोल्डकपः उपाधि होडमा मछिन्द्र


eShilalekh

३० चैत्र २०८०, शुक्रबार २२:४७

सिमराः बिराट गोल्डकपको उपाधि उचालेर बारा आएको मछिन्द्र फूटबल क्लब १४औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रबार राती भएको पहिलो सेमिफाइनल खेलमा सिरहाको सलहेश युवा क्लबलाई २-० ले पराजित गर्दै मछिन्द्र उपाधि नजिक पुगेको हो ।

१० वर्षपछि जीतपुरसिमरा गोल्डकप खेल्न आएको मछिन्द्रलाई उपाधि होडमा उभ्याउने क्रममा बिमल घर्ती मगर र देवेन्द्र तामाङले समान एक–एक गोल गरे । मछिन्द्रले दुवै गोल खेलको पहिलो हाफमा गरेको थियो ।

यसअघि म्याजिक मोमेन्ट्स चौथो सिमरा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबसंग १–० ले पराजित हुँदै उपाधि होडबाट बाहिरिएको मछिन्द्र एक दशकपछिको सहभागितामा उपाधि नजिक पुगेको हो ।

साविक विजेता चर्च ब्वाइज युनाइटेड क्लबलाई पराजित गर्दै बलियो प्रस्तुति देखाएको सहलेशका लागि मछिन्द्रविरुद्धको खेल सहज हुन सकेन । स्टार खेलाडी सम्मिलित मछिन्द्रले नियन्त्रित खेल खेल्दै अघिल्लो यात्रा तय गरेको हो ।

कुलदीप कार्कीको नेतृत्वमा रहेको सलहेशविरुद्ध बिमल घर्ती मगरले खेलको ३०औं मिनेटमा अग्रता दिलाएका थिए । छिरिङ गुरुङको पासलाई सदुपयोग गर्दै बिमलले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे । बिमलको उक्त गोल हेर्नलायक थियो ।

मछिन्द्रले दोस्रो गोल पहिलो हाफको इन्जुरी समयमा गरेको थियो । अभिशेष गुरुङको कर्नर बलमा देवेन्द्र गुरुङले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

खेलमा २–० ले पछि परेको सलहेशका लागि दोस्रो हाफ पनि सुखद् हुन सकेन । मछिन्द्रविरुद्ध बनाएको केही अवसर सदुपयोग गर्न नसक्दा सलहेश अधिकांश समय दवावमा देखियो । सलहेशका आशिष चापागाईले केही राम्रा अवसर गुमाएका थिए ।

यता मछिन्द्रले पनि केही अवसर खेल फालेको थियो । दोस्रो हाफमा सलहेशलाई दवावमा राख्दै खेलेको मछिन्द्रले स्कोर निकाल्न नसकेपनि नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ ।

मछिन्द्रको जीतमा एक गोल गरेका बिमल प्लेयर अफ दि म्याच घोषित भए । उनले शुभारम्भ कलेजले प्रायोजन गरेको १० हजार राशीको पुरस्कार हात पारे । बिमललाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी र शुभारम्भ कलेजका संस्थापक डा. राहुल झाले पुरस्कार वितरण गरेका थिए ।

मछिन्द्रले अब उपाधिका लागि नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । पुलिस र एपीएफबीच शनिबार दोस्रो सेमिफाइनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्