विभागिय डर्बीमा जित निकाल्दै पुलिस फाइनलमा


eShilalekh

१ बैशाख २०८१, शनिबार २२:३७

सिमराः नेपाल एपीएफ क्लबविरुद्धको विभागिय डर्बीमा जित निकाल्दै नेपाल पुलिस क्लब १४औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शनिबार राती भएको दोस्रो सेमिफाइनल खेलमा एपीएफलाई ३–२ ले स्तब्ध पार्दै पुलिस आठ वर्षपछि फाइनलमा प्रवेश गरेको हो ।

यसअघि रुस्लान छैठौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिस त्रिभुवन आर्मी क्लबसंग २–० ले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो । आठ वर्षपछि पुलिसलाई उपाधि होडमा उभ्याउने क्रममा आशिष राई, रामचन्द्र वाजे र सुजन मगरले एक–एक गोल गरे ।

एपीएफका लागि भने प्रदीप लामा र युवराज खड्काले गोल फर्काए । घरेलु दर्शकको समर्थन पाएको एपीएफविरुद्ध पुलिसले खेल सुरु भएको ४७ सेकेण्डमा अग्रता लिएको थियो । एपीएफको रक्षापंक्ती सम्हालिन नपाउँदै पुलिसका लागि आशिष राईले गोल गरेका थए । डिबक्स भित्र पाएको बललाई सदुपयोग गर्दै आशिषले टिमका लागि महत्वपूर्ण गोल गरे ।

एन्फा मकवानपुर र फ्रेण्ड्स क्लबलाई पराजित गर्दै उच्च मनोबलका साथ सेमिफाइनल खेल्न मैदानमा उत्रिएको एपीएफ खेलको सुरुवातमै गोल खाएपछि दवावमा देखियो । आयोजक नव जनजागृति युवा क्लबलाई पराजित गरेर सेमिफाइनल प्रवेश गरेको पुलिसले २१औं मिनेटमा अग्रता दोब्बर पार्दा घरेलु दर्शक समेत निराश देखिएका थिए ।

पुलिसले आयोजकलाई पराजित गरेका कारण घरेलु दर्शकको समर्थन एपीएफको पक्षमा देखिएको थियो । दवावकाबीच पनि पुलिसविरुद्ध केही अवसर बनाएको एपीएफको फिनिसिङ पक्ष भने कमजोर देखियो ।

खेलको २६ औं मिनेटमा एपीएफका अनिश महर्जनले डिबक्स भित्र पाएको बललाई पोष्टको दिशा दिन सकेनन् । प्रदीप लामाले निकालेको पासलाई अनिशले क्रसबार माथि प्रहार गरे । खेलको ४२औं मिनेटमा प्रदीप लामाले गोल गर्दै अग्रता घटाए । बुद्धिमान राईले डिबक्स भित्र निकालेको पासलाई सदुपयोग गर्दै प्रदीपले खेल २–१ को स्थितीमा पुर्‍याए ।

दोस्रो हाफमा एपीएफ निकै आक्रामक देखियो । रक्षात्मक देखिएको पुलिसविरुद्ध ६१औं मिनेटमा युवराज खड्काले सानदार गोल गर्दै खेल बराबरीमा ल्याए । ३१औं मिनेटमा महेश लामाको स्थानमा मैदान प्रवेश गरेका युवराजको गोलपछि खेल रोमाञ्चक बन्न पुग्यो ।

खेलको ७४औं मिनेटमा एपीएफले अग्रता लिने उत्कृष्ट अवसर गुमायो । पुलिसका रक्षापंक्तीले क्लियर गर्न खोजेको बल प्रदीप लामाको खुट्टामा लागेर गोल लाइन नजिक पुगेको थियो । उक्त बललाई पुलिसका शिशिर चौधरीले क्लियर गरेका थिए ।

खेलमा केही राम्रा अवसर गुमाएको एपीएफविरुद्ध खेलको ८८औं मिनेटमा सुजन मगरले निर्णायक गोल गरे । डिबक्स भित्र पाएको बललाई उत्कृष्ट फिनिसिङ दिँदै सुजनले टिमलाई उपाधि होडमा उभ्याए ।

पुलिसको जितमा एक गोल गरेका रामचन्द्र वाजे प्लेयर अफ दि म्याच घोषित भए । उनले शुभारम्भ कलेजले प्रायोजन गरेको १० हजार राशीको पुरस्कार हात पारे । वाजेलाई शुभारम्भ कलेजका प्रमुख शम्भु मण्डल, जीतपुरसिमरा ५ का वडाध्यक्ष दीपेन्द्र चौधरी, १२ वडाध्यक्ष श्यामबाबु खाँ, १३ का वडाध्यक्ष हेमनारायण चौधरीले पुरस्कृत गरेका थिए ।

पुलिसले अब उपाधिका लागि मछिन्द्र फूटबल क्लबसंग खेल्नेछ । सिरहाको सलहेश युवा क्लबलाई पराजित गर्दै मछिन्द्र फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्