पुलिसले उचाल्यो जीतपुरसिमरा गोल्डकपको उपाधि


eShilalekh

४ बैशाख २०८१, मंगलवार १७:४५

सिमराः मच्छिन्द्र फूटबल क्लबलाई टाईब्रेकरमा स्तब्ध पार्दै नेपाल पुलिस क्लबले जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको उपाधि उचालेको छ । सिमरा रंगशालामा सोमबार राती भएको फाइनल खेलमा मच्छिन्द्रलाई टाईब्रेकरमा ४-३ ले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो ।

जीतपुरसिमराको उपाधि पुलिसले जितेको पहिलो पटक हो । यसअघि छैटौं सिमरा गोल्डकपको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबसंग २-० ले पराजित हुँदा पुलिस उपाधि जित्नबाट बञ्चित भएको थियो । आठ वर्षपछि दोस्रो पटक फाइनल प्रवेश गरेको पुलिसले उपाधि उचाल्दै जीतपुरसिमरा गोल्डकपको टाइटल जित्ने ११औं टोलीको रुपमा आफ्नो नाम दर्ता गराएको छ ।

उपाधि जितेसंगै पुलिसले ट्रफिसहित १० लाख हात पारेको छ भने उपविजेता मच्छिन्द्रले पाँच लाख पाएको छ । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका बिमल घर्ती मगर घोषित भएका छन् । उनले टिभिएसको स्कुटर प्राप्त गरेका छन् ।

विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलरक्षक पुलिसका सञ्जित श्रेष्ठ घोषित भए । उनले २५ हजार पाएका छन् । सर्वाधिक गोलकर्ताको पुरस्कार पुलिसका उज्वल राई र वीरगन्ज युनाइटेडका फागुराम चौधरी घोषित भएका छन् । उनिहरुले जनही १२ हजार पाँच सय प्राप्त गरे ।

प्रतियोगिताको उदयीमान खेलाडी आयोजक नव जनजागृति युवा क्लबका प्रज्वल थापामगर घोषित भएका छन् । उनले १५ हजार पाएका छन् । फाइनल खेलको प्लेयर अफ दि म्याचको पुरस्कार पुलिसका गोलरक्षक अमित टमाटाले पाएका छन् । टमाटाले १० हजार हात पारेका छन् ।

विजेता, उपविजेतासहित उत्कृष्ट खेलाडीलाई पूर्वमन्त्री एवम् बारा क्षेत्र नं. ४ का सांसद कृष्णकुमार श्रेष्ठ, नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल, नेपाली सेनाका सहायक रथी राजेन्द्रमणी गिरी, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोखरेल, मुख्य सहयोगी जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, मुख्य प्रायोजक जगदम्बा स्टील्स्का कर्पोरेट भाइस प्रेसिडेण्ट कृष्णदत्त भट्ट, नेपोभिट टायल्सकी संचालक विभा झा, शुभारम्भ कलेजका प्रमुख शम्भु मण्डललगायतले पुरस्कृत गरेका थिए ।

यसअघि निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय समेत गोलरहित बराबरी भएपछि नतिजा टाईब्रेकरबाट निकालिएको हो ।

टाईब्रेकरमा पुलिसका गोलरक्षक अमित टमाटाले उत्कृष्ट दुई बचाउ गर्दै टिमलाई उपाधि दिलाए । उनले मच्छिन्द्रका शौरभ लिम्बु र चन्दन दासको प्रहार रोकेका थिए । मछिन्द्रका लागि बिशाल तामाङ र दिवाकर चौधरीले मात्रै गोल गरे । यता पुलिसका कप्तान रामचन्द्र वाजे, पुजन राई, सुजन मगर र आशिष राईले गोल गरेका थिए ।

निर्धारित र अतिरिक्त समयमा उत्कृष्ट खेल पस्किएको मच्छिन्द्र टाईब्रेकरमा भने चुकेको थियो । खेल अवधिमा पाएका उत्कृष्ट अवसरलाई मच्छिन्द्रका खेलाडीले सदुपयोग गर्न सकेनन् । पुलिसविरुद्ध लगातार दवाव कायम राखेको मच्छिन्द्र निर्धारित समय सकिन केही मिनेट बाँकी हुदा ९ खेलाडीमा सिमित हुन पुगेको थियो ।

खेलको ८४औं मिनेटमा मच्छिन्द्रका उत्सव राई र खेलको ८८औं मिनेटमा मनिष डांगी रातो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगेका थिए । ९ खेलाडीमा सिमित भएको मच्छिन्द्रले विभागिय टोली पुलिसविरुद्ध अतिरिक्त समयमा निकै संघर्ष गर्नुपरेको थियो । मच्छिन्द्रको आक्रामक खेल रोक्न पुलिसलाई समेत हम्मेहम्मे देखिन्थ्यो । दुई टिमबीचको रोमाञ्चक खेल हेर्न सिमरा रंगशालामा करिब १० हजार दर्शक उपस्थित थिए ।

जीतपुरसिमरा गोल्डकपको हालसम्मको विजेताः
२०८० – नेपाल पुलिस क्लब
२०७९ – चर्च ब्वाइज युनाइटेड
२०७८ – न्युरोड टिम (एनआरटी)
२०७७ – संकटा क्लब
२०७५ – थ्रिस्टार क्लब
२०७४ – त्रिभुवन आर्मी क्लब
२०७३ – संकटा क्लब
२०७२ – विजय युथ क्लब, हेटौंडा
२०७१ – त्रिभुवन आर्मी क्लब
२०७० – आयोजक नव जनजागृति युवा क्लब
२०६९ – मनाङ मस्र्याङ्दी क्लब
२०६८ – मनाङ मस्र्याङ्दी क्लब
२०६७ – हिमालयन शेर्पा क्लब
२०६६ – मजदुर सहिद स्मृति क्लब

प्रतिक्रिया दिनुहोस्