अमेरिकामा ‘समुन्नत नेपालका लागि पदयात्रा’


eShilalekh

६ बैशाख २०८१, बिहीबार १०:५९

अमेरिकाः ‘सम्मुन्नत नेपालको लागि पदयात्रा’ को नारासहित अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को शहरमा ‘नेपाल डे परेड २०२४’ सम्पन्न भएको छ । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उदेश्यसहित गत वर्षदेखि सुरुवात भएको परेड कार्यक्रम यो वर्ष पनि भव्यरुपमा सम्पन्न गरिएको हो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया च्याप्टरको आयोजना र राष्ट्रिय समन्वय परिषद अमेरिका (एनसीसी) क्यालिफोर्निया च्याप्टर, नेपाल आदीवासी जनजाती महासंघसहित विभिन्न संघसंस्थाको समन्वयमा आयोजित परेड कार्यक्रममा हजारौंको संख्यामा नेपाली र अमेरिकी नागरिक सहभागी भएका थिए ।

नेपालको कला, संस्कृति झल्किने झाँकी र नृत्यसहित आयोजना गरिएको कार्यक्रममा अमेरिकी सांसद स्कट विनर ल्यारी क्लेन, सनीभेल (क्यालिफोर्निया) सिटीका मेयर कारमेन मोंटानो, मिल्पीटस (क्यालिफोर्निया) सिटीका मेयर एडुवार्डो रिचमण्ड, अमेरिकी राष्ट्रपति जो बाइडेनका एशियाई अमेरिकी सल्लाहकार अजय भुटोरिया, नेपालका क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालगायत सहभागी थिए ।

एनआरएन एनसीसी अमेरिकाका अध्यक्ष अर्जुन बन्जाडेले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उदेश्यसहित परेड कार्यक्रम सम्पन्न गरिएको बताएका छन् । बन्जाडेले सुन्दर नेपालको भ्रमण गर्न समेत आग्रह गरेका थिए । एनआरएनए एनसीसी क्यार्लिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाले अमेरिकामा जन्मिएर नेपाल नगएका बालबालिकालाई समेत नेपालको कला संस्कृतिबारे जानकारी गराउन परेड कार्यक्रम सहयोगी हुने बताए । नेपाली कलासंस्कृतिलाई जगेर्ना गर्न पनि कार्यक्रमले उर्जा थप्ने ओझाको भनाई थियो ।

यसैगरी अमेरिकी राष्ट्रपति बाइडेनका एशियाई अमेरिकी सल्लाहकार भुटेरियाले परेड कार्यक्रममा निमन्त्रण गरेको खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरिन् । नेपाली महावाणिज्य दूत ऋषि ढकालले परदेशमा रहेर पनि नेपालीहरुले आफ्नो कला, सस्कृती, धर्म, भाषा, भेषभुषा जोगईराखेको र नेपाललाई बिश्वमा चिनाउने काम गरेकोमा खुशी व्यक्त गरे । यस्तो कार्यक्रममा नेपाल भ्रमण गर्न उत्साहित बनाउने ढकालले बताए ।

कार्यक्रममा एनआरएन एनसीसी डालस फोर्टवर्थका बरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, कोषाध्यक्ष सरोज सिग्देल, एनआरएनए एनसीसी अमेरिका व्यापार तथा पर्यटन बिभाग कार्यदलका अध्यक्ष सबिन्द्र थापा, टेक्सास च्याप्टर अध्यक्ष दिपेन्द्र गुरागाई, नेपाली समाज टेक्सासका सचिब पुण्य पाण्डे, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारीलगायतले कार्यक्रममा सहभागिता जनाएका थिए । एनआरएनए टेक्सास च्याप्टरका अध्यक्ष दिपेन्द्र गुरागाईंले कार्यक्रममा विभिन्न शहरबाट उत्साहजनक सहभागिता रहेको जानकारी दिए ।

एनआरएनएनसीसी अमेरिका व्यापार तथा पर्यटन कार्यदलका अध्यक्ष सबिन्द्र थापाले यस्ता कार्यक्रमहरुले नेपालमा अमेरिकी पर्यटकहरुको संख्या बढाउन ठूलो सहयोग पुर्याउने बताएका छन् । एनआरएन एनसिसि अमेरिकाको व्यापार तथा पर्यटन बिभाग र टेक्सास चाप्टरले केहि महिना अघि डालस फोर्टवर्थको युलेश सिटी पुस्तकालय हलमा भिजिट नेपाल २०२४–२५ अभियान शुरुवात गर्न एक कार्यक्रमको समेत आयोजना गरेको थियो । यस्ता कार्यक्रमहरुले अमेरिकामा रहेका नेपालीहरुलाई नेपालको पर्यटन बिकाश बारेमा सूसुचित गरि उनीहरु मार्फत अमेरिकी नागरिकहरुलाई नेपालको बारेमा जानकारी दिई नेपाल भ्रमणको लागि उत्साहित बनाउन सहयोग पुग्ने थापाले बताए ।

अमेरिकाबाट रामप्रसाद अधिकारीको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्