एमाले बारामा निर्वाचित पदाधिकारी र सदस्यको सपथ ग्रहण सम्पन्न


eShilalekh

६ बैशाख २०८१, बिहीबार १२:०१

सिमराः नेकपा एमाले बाराको ११औं जिल्ला अधिवेशनबाट जिल्ला कमिटीमा निर्वाचित पदाधिकारी र सदस्यको सपथ ग्रहण सम्पन्न भएको छ । एमाले केन्द्रीय कमिटी सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईको उपस्थितीमा नवनिर्वाचित पदाधिकारी र सदस्यको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

सपथ ग्रहण कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका भट्टराई आफूले पाएको जिम्मेवारी अनुसार काम गर्न आग्रह गरे । जिल्ला कमिटीमा आउनका लागि चुनावी प्रतिस्पर्धामा होमिएर निर्वाचित भएका पदाधिकारी र सदस्यले पार्टीको उदेश्यअनुसारका काम गर्न पनि सक्रियता देखाउनुपर्ने भट्टराईको भनाई थियो ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य एव्म पूर्वमन्त्री पुरुषोत्तम पौडेलले जिल्ला कमिटीले गर्नुपर्ने काम र दायित्वका विषयमा प्रकाश पारेका थिए । उनले मिसन ८४ को अभियानमा लाग्न अनुरोध गर्दै जनताको सेवामा समर्पित हुन समेत आग्रह गरेका थिए ।

एमाले पोलिटव्युरो सदस्य एवम् बारा इन्चार्ज रामदयाल मण्डलको अध्यक्षतामा सम्पन्न सपथ ग्रहण कार्यक्रमलाई एमाले केन्द्रीय सदस्य बलबीर चौधरी, सरस्वतीदेवी चौधरी, मधेस प्रदेश सचिव मनोज पौडेल, निवर्तमान अध्यक्ष विनोद साह, नवनिर्वाचित अध्यक्ष अध्यानन्द पाण्डेलगायतले सम्बोधन गरेका थिए ।

नयाँ नेतृत्व चयनका लागि चैत्र २३ गते भएको निर्वाचनबाट जिल्ला कमिटीको अध्यक्षमा पाण्डे, उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईं, उपसचिवमा जवाहिर अंसारी र भावना आचार्य निर्वाचित भएका थिए ।

नवनिर्वाचित अध्यक्ष पाण्डे र लेखा समितिका संयोजक रमेश सापकोटालाई प्रमुख निर्वाचन अधिकृत महम्मद रफिक मियाले सपथ खुवाएका थिए भने अन्य सदस्यलाई अध्यक्ष पाण्डेले सपथ ग्रहण गराएका थिए । सपथ ग्रहणपछि निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

एमालेको ११औं जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कमिटीले मियालाई प्रमुख निर्वाचन अधिकृत, गोकुल घोरसाइने, दिवाकर भण्डारी, तोयानाथ लुईटेल, अनिल सिन्हालाई निर्वाचन अधिकृत तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्