प्रथम अमलेखगञ्ज चकरी कराँते प्रतियोगिता सम्पन्न


eShilalekh

२३ बैशाख २०८१, आईतवार १५:२३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जमा शनिबार प्रथम अमलेखगञ्ज चकरी कराँते प्रतियोगिता सम्पन्न भएको छ । वडा नं. २१ को कार्यालयको सहयोग र नेपाल मधेसी उत्थान समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतियोगिताको जीतपुरसिमरा २१ का वडाध्यक्ष सुवास श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष श्रेष्ठले खेलकुदको विकासका लागि वडाले विभिन्न कार्यक्रम संचालन गरिरहेको र आगामी वर्ष त्यस्ता कार्यक्रमले अझै निरन्तरता पाउने बताए ।

समाजका अध्यक्ष सुनिल साहको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उद्घाटन समारोहमा पूर्व गाविस अध्यक्ष भरतबहादुर घले, जिल्ला खेलकुद विकास समितिका प्रमुख हेमलाल श्रेष्ठ, बरिष्ठ कराँते प्रशिक्षक गगन लामा, जीतपुरसिमरा २२ का पूर्व वडाध्यक्ष मणिकलाल थिङ, वडासचिव जीवनकुमार क्षेत्रीलगायतको उपस्थिती रहेको थियो ।

वडा कार्यालय परिसरमा आयोजित प्रतियोगितामा विभिन्न डोजोका खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई वडाध्यक्षसहितका अतिथिले पुरस्कृत गरेका थिए ।

सो अवसरमा कराँते खेलको विकासमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्