बाराका दुई नेताले छोडे जसपा नेपाल- ‘एकात्मक शासनबाट बाहिरिएका छौंः’ पारस साह


eShilalekh

२४ बैशाख २०८१, सोमबार ०९:११

सिमराः उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुट्दै गर्दा बाराका दुई प्रभावशाली नेताले उनको साथ छोडेका छन् । अशोक राई नेतृत्वमा पार्टी विभाजित हुँदै गर्दा बाराका प्रमोद गुप्ता र पारसप्रसाद साहले यादवको साथ छाडेका हुन् ।

हाल उपप्रधान एवम् स्वास्थ्य मन्त्री रहेका यादव बारा २ सांसद समेत हुन् । तर उनले नेतृत्व गरेको पार्टी विभाजन हुँदा उनि उपनिर्वाचन लडेको जिल्लाका दुई ठुला नेता नै उनको पक्षमा देखिएनन् ।

पार्टी विभाजनमा राईलाई साथ दिएका गुप्ता २०६४ सालको संविधानसभाका सदस्य हुन् भने साह २०७४ सालको मधेस प्रदेशसभाका सदस्य हुन् । पार्टीमा गुप्ता राजनीतिक समिति सदस्य र साह केन्द्रीय सदस्य रहेका थिए ।

अहिले राई नेतृत्वको नयाँ दलमा दुवैलाई केन्द्रीय सदस्य बनाइएको छ । संघ र प्रदेश दुबै तहको सरकारमा पार्टी रहेकै बेला नयाँ नेतृत्वलाई साथ दिएका गुप्ता र साह केन्द्रीय अध्यक्षबाट असन्तुष्ट देखिएका छन् । पार्टी विभाजनपछि प्रतिक्रिया दिँदै पूर्व प्रदेशसभा सदस्य साहले अध्यक्षको एकात्मक शासनबाट बाहिरिएको बताएका छन् ।

अध्यक्ष (उपेन्द्र यादव) ले पार्टीलाई आफ्नै ढंगबाट चलाउन खोजेका कारण आफूहरु अलग भएको साहले बताए । ‘अरुका लागि विधानको व्याख्या हुन्छ तर अध्यक्षका लागि विधान चाहिदैन’ साहले भने ‘गणतन्त्रमा यस्तो एकात्मक शासन चल्दैन । त्यसैले हामी बाहिरिएका हौं ।’

परिवर्तनका लागि देशमा भएका विभिन्न आन्दोलनमध्ये मधेस आन्दोलनको उपलब्धि जनताले अनुभूति गर्न नसकेको भन्दै साहले राई नेतृत्वको पार्टीले जनताको पक्षमा काम गर्ने बताए ।

‘तराई मधेस राज्यबाट उपेक्षित थियो । हक अधिकारका लागि मधेस आन्दोलन भयो र हामी अधिकार प्राप्तिको आन्दोलनमा सफल पनि भयौ’ साहले इशिलालेखलाई भने ‘तर मधेस आन्दोलन र तराई मधेसका जनताको बलमा मधेस प्रदेशको नेतृत्व गर्ने अवसर पाएको पार्टीले भने जनतालाई त्यसको अनुभूति गराउन सकेन । यो दुःखद् हो ।’

दुई कार्यकालदेखि मधेस सरकारको नेतृत्व जसपा नेपालले गर्दै आएपनि शिक्षा र स्वास्थ्यको स्तर घटेको र सिमा पार गर्ने गरी भष्ट्राचार बढेको साहको आरोप छ । आफू प्रदेश सभामा हुँदा भष्ट्राचारविरुद्ध आवाज उठाँउदा समेत सुनुवाई नहुँदा ‘फ्रस्ट्रेड’ हुनुपरेको साहले बताए । अब तराई मधेस मात्र नभई समग्र देशकै हितमा काम गर्ने गरी राई नेतृत्वको पार्टी अघि बढ्ने बताए ।

साह र गुप्ता राई नेतृत्वको नयाँ दलतर्फ लागेसंगै जसपा नेपाललाई बारामा धक्का लाग्ने देखिन्छ । साह र गुप्तासंगै जिल्लाका अर्का प्रभावशाली नेता एवम् बारा ३ का पूर्व सांसद रामबाबु कुमार यादव समेत नयाँ नेतृत्वलाई साथ दिन सक्नेछन् । मधेस प्रदेशको अध्यक्षको जिम्मेवारीबाट हटाएपछि उनि समेत केन्द्रीय अध्यक्ष यादवसंग रुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्