पेट्रोलमा सात र डिजेल तथा मट्टितेलमा पाँच रुपैयाँ घट्यो


eShilalekh

२ जेष्ठ २०८१, बुधबार २१:३४

सिमराः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रति लिटर सात र डिजेल तथा मट्टितेलमा प्रति लिटर पाँच रुपैयाँ घटाएको हो ।

निगमले मूल्य घटाएसंगै अब पहिलो वर्ग अन्तर्गत पर्ने अमलेखगञ्ज, वीरगन्ज, जनकपुर, चारआली, विराटनगर, भलवारी, नेपालगञ्ज, धनगढीमा पेट्रोल प्रतिलिटर १६८.५० रुपैयाँमा पाइनेछ भने डिजेल तथा मट्टितेलको प्रति लिटर १५१.५० रुपैयाँ पर्नेछ । यसअघि उक्त क्षेत्रमा पेट्रोलको मूल्य १७५.५० र डिजेल तथा मट्टितेलको १५६.५० रुपैयाँ थियो ।

यसैगरी दोस्रो वर्ग अन्तर्गत पर्ने सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर एक सय ७० रुपैयाँ र डिजेल एक सय ५३ रुपैया पर्नेछ भने तेस्रो वर्ग अन्तर्गत रहेको काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर एक सय ७१ रुपैयाँ र डिजेल एक सय ५४ रुपैयामा पाइनेछ ।

इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य घटेर आएपछि निगमले साविकको मूल्यमा घटाएको हो ।

प्रतिक्रिया दिनुहोस्