कांग्रेसलाई संसदीय समिति होईन, सरकार चाहिएको होः एमाले अध्यक्ष ओली


eShilalekh

४ जेष्ठ २०८१, शुक्रबार १८:४७

सिमराः नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई संसदीय छानविन समिति नभई सरकार चाहिएको आरोप लगाएका छन् ।

बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित भवनको शुक्रवार उद्घाटन गर्दै अध्यक्ष ओलीले रवि लामिछानेविरुद्ध कांग्रेसले संसदीय समिति नभएर सरकार खोजेको आरोप लगाए ।

‘कांग्रेसले रवि लामिछानेविरुद्ध समिति खोजेको होईन । कांग्रेसलाई सरकार चाहिएको हो’ ओलीले भने ‘ यो सरकार उल्टाउन खोजिदैछ । सरकार उटाउन दिईदैन ।’ ओलीले वर्तमान सरकार नेपाल र नेपालीले बनाएको बताए ।

लोकतान्त्रिक पार्टी र त्यसको मसिहा भन्न रुचाउने कांग्रेसले संसद भित्र संसदीय मर्यादा समेत पालना नगरेको बताउँदै अध्यक्ष ओलीले आफूविरुद्ध अनावश्यक निँहु खोज्न आएको बताए । संसदमा बिहीबार भएको घटनामा कांग्रेसले संसदीय मर्यादा बिर्सिएको ओलीको भनाई थियो ।

‘प्रतिपक्षीको बस्ने ठाउँ टाढा छ । तर पनि म तिर आएर निहुँ खोज्ने काम भयो’ ओलीले भने ‘मैले संसदीय मर्यादा कायम राख्नुस । म तिर होईन सभामुखतर्फ फर्किएर नारा लगाउनुस् भन्दा मै संग निहुँ खोजियो । कांग्रेसले लोकतान्त्रिक मर्यादा कायम राखेन ।’

कांग्रेसको महामन्त्री भनिएका व्यक्तिले आफू र सभामुखविरुद्ध पत्रकार सम्मेलन गर्ने जस्ता काम गरेको भन्दै ओलीले असन्तुष्टी पोखे । ओलीले संसदमा कांग्रेसले अनावश्यक तमासा गरिरहेको र केही पार्टीहरु कांग्रेसको पछि लागिरहेको बताए । ‘केही पार्टीहरु कांग्रेसको पछिपछि कुदेका छन्, नकुद्न आग्रह गर्छु ’ ओलीले भने ।

उद्घाटन समारोहलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवम् एमाले केन्द्रीय सचिव रघुवीर महासेठ, बारा क्षेत्र नं. ४ का सांसद एवम् पूर्वमन्त्री किसान श्रेष्ठलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्