एनआरएनए अमेरिकाको समिक्षा र योजना विषयक साक्षात्कार सम्पन्न


eShilalekh

११ जेष्ठ २०८१, शुक्रबार ०८:५७

अमेरिका: गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको बार्षिक समिक्षा विषयक साक्षात्कार तथा बहस कार्यक्रम सम्पन्न भएको छ । रिपोर्टस क्लब अमेरिकाले भर्चुअलमाध्यमबाट साक्षात्कार तथा बहस कार्यक्रम आयोजना गरेको हो ।

एनआरएनए अमेरिकाका अध्यक्ष डा.अर्जुन बञ्जाडे सहितका शिर्ष पदाधिकारीहरुको सहभागितामा सम्पन्न कार्यक्रम मेरिल्याण्ड राज्यमा हुने संघको १३औं साधारणको तयारी, संघको योजना, उपलब्धि, चुनौतीसंगै वार्षिक समिक्षामा केन्द्रीत थियो । कार्यक्रममा एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष भानु खरेल, महासचिव रामहरी अधिकारी र कोषाध्यक्ष सरोज सिग्देल अतिथिका रुपमा सहभागी रहेका थिए ।

कार्यक्रममा बोल्दै एनआरएनए अमेरिकाका अध्यक्ष डा. बञ्जाडेले नेतृत्वका क्रममा देखिएको चुनौती र हासिल गरेका उपलब्धिका विषयमा जानकारी दिएका थिए । विभिन्न विभागमार्फत कामको बाँडफाँड गर्दै आएको बताउँदै बञ्जाडेले यसकै उपलब्धिका रुपमा बार्षिक साधारण सभा तथा ज्ञान सम्मेलन, एनआरएनए क्रिकेट कप, रुप स्मृती कप, बोस्टनमा एनआरएनए कार्यक्रम, नेपाल डे परेडलगायतका कार्यक्रममा गरिएको प्रत्यक्ष सहकार्यको स्मरण गराएका थिए । आयोजित कार्यक्रमहरुप्रति सम्बन्धित राज्यका सिनेटहरुले समेत चासो देखाउँदै आएको बताउँदै डा. बन्जाडेले गर्व गर्न र सम्झनलायक धेरै उपलब्धिहरु भएको बताए ।

यसैगरी एनआरएनए अमेरिकाका उपाध्यक्ष भानु खरेलले पनि वितेको एक बर्षमा भएका उपलब्धि र आफूले पाएका जिम्मेवारी सम्बन्धमा धारणा राखेका थिए । शिक्षा, टेक्नोलोजीलगायतका क्षेत्रमा गरिएको लगानी र त्यसबाट उत्पादन भएको  जनशक्तिले नै साधारणसभाको प्राविधिक व्यवस्थापनको जिम्मा लिएको उनले बताए ।

एनआरएनए एनसीसी अमेरिकाका महासचिव रामहरी अधिकारीले पनि वर्ष समिक्षासहित १३औं साधारण सभा तथा ज्ञान सम्मेलनको तयारीबारे जानकारी दिएका थिए । साधारण सभामा विधान संसोधन समितीको जिम्मेवारीमा रहेका अधिकारीले चाँडै नै समितिले पूर्णता पाउने र गठित समिती मेम्बरसिप डाईभ, विधान परिमार्जन, चुनावी प्रक्रिया छलफल, ६० जना रहेको कार्यसमिती संरचना हेरफेर, कार्य विभाजनमा थप स्पष्टतालगायतका महत्वपूर्ण विषयमा केन्द्रीत रहने जानकारी पनि दिएका छन् ।

त्यस्तै एनआरएनए एनसीसी कोषाध्यक्ष सरोज सिग्देलले एनआरएनएसंग संकलित रकम सदस्यबाट नै प्राप्त रकम भएकाले आवश्यकता अनुसार समुदायका गतिविधीमा संघले लगानी गर्दै आएको बताए ।

बोस्टन, न्यूर्योक, कोलोराडो, क्यालिफोर्निया, टेक्ससलगायतका समुदायमा निर्मित तथा निर्माण हुँदै गरेका नेपाली समुदाय लक्षित विकास उपयोगी कार्यमा सो रकम खर्च हुँदै आएको बताउँदै कोषाध्यक्ष सिग्देलले क्यालिफोर्नियामा सम्पन्न बैठकले थप कार्यविधिले थप उपलब्धिमुलक योजनाहरुमाथि पनि आन्तरिक तयारीमा जुटाएको बताए ।

एनआरएनए अमेरिका मिडिया एण्ड पव्लिकेशन टिमका चियर पत्रकार सतिश चापागाईले एनआरएनए पदाधिकारी तथा जिम्मेवार पदमा रहेका सम्पूर्णका लागि कार्यकालको बाँकी एक बर्ष काम गर्नका लागि प्राईम टाईम भएको बताएका छन् । अमेरिकाका क्रियाशिल नेपाली मिडिया र मिडियाकर्मीका पक्षमा निरन्तर आवाज उठाउँदै आएका चापागाईंले संचार कर्ममा सहयोग गर्नका लागि एनसीसी अमेरिकाका अध्यक्ष डा. बञ्जाडेलगायतका संस्थागत प्रतिनिधि सकारात्मक रहँदै आएको बताउँदै अमेरिकामा रहेका नेपाली संचारकर्मीले आफ्ना जिज्ञासा र अवस्था संघसम्म लैजानुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारीले मातृभूमिबाट टाढा रहेका प्रवासीहरुको साझा संस्था एनआरएनए अमेरिका विश्वको एनआरएन मोमेन्टलाई वैचारिकरुपमा नेतृत्व गर्ने संस्थासमेत रहेकाले यसका गतिविधीले नेपाली समुदायसंग प्रत्यक्ष सरोकार राख्ने बताएका छन् । एनआरएनए अमेरिकाले वैधानिक सदस्यप्रतिको जिम्मेवारीकारुपमा घोषणासहित साधारणसभा तथा ज्ञान सम्मेलन राख्नु प्रशंसनिय रहेको बताउँदै अविभावकीय संस्था भएकाले प्रवासी समुदाय र मिडियामा यसको सुस्तता र क्रियाशिलता दुवैले ठुलो अर्थ राख्ने धारणा व्यक्त गरेका छन् ।

नेजाका क्षेत्रीय संयोजक, घण्टेश्वर अनलानका संचालक तथा राष्ट्रिय समाचार समितिका टेक्सस संवाददाता शंकर थापाले समुदाय बलियो बनाउन मिडिया र मिडिया बलियो बनाउन समुदायको भुमिका रहने स्पष्ट पार्दै भने मिडियाको अवस्थाले समुदायको तस्विर झल्किने बताएका थिए ।

रिपोटर्स क्लब अमेरिकाका अध्यक्ष किशन रेग्मीले संचालन गरेको बहस तथा साक्षात्कार कार्यक्रममा पत्रकारहरु शंकर थापा, विपिन धिताल, अर्जुन न्यौपाने, भुपेन्द्र भण्डारी, टंकमणी घिमिरे, दिनेश नेपाली, सरु सुनार, बिष्णुहरी घिमिरे, बाबुराम दाहाललगायतले एनआरएनए पदाधिकारीसंग जिज्ञासाहरु राखेका थिए ।

एनआरएनए एनसिसि अमेरिका मिडिया टाक्स फोर्ससंगको सहकार्यमा आयोजित कार्यक्रमको एनआरएनए एनसीसीको फेसबुकमार्फत पनि प्रत्यक्ष प्रसारण गरिएको थियो ।

अमेरिकाबाट पत्रकार विपिन धितालको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्