राष्ट्रिय क्रिकेट खेलाडीको हौसला बढाउन सिमराका युवा व्यवसायीले गरे पुरस्कारको घोषणा


eShilalekh

२२ जेष्ठ २०८१, मंगलवार २०:४३

सिमराः टी–२० विश्वकप क्रिकेटमा सहभागी नेपाली राष्ट्रिय टिमका खेलाडीको हौसला बढाउन बारा सिमराका तीन युवा व्यवसायीले पुरस्कार राशीको घोषणा गरेका छन् ।

अमेरिकामा मंगलबार राती ९.१५ बजे नेदरल्याण्डविरुद्ध पहिलो खेल खेल्न लागेको राष्ट्रिय टिमका खेलाडीका लागि सिमराका युवा व्यवसायी रवीकुमार गुप्ता, शम्भु खड्गी र निराजन खरेलले पुरस्कारको घोषणा गरेका हुन् ।

होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष समेत रहेका युवा व्यवसायी खड्गीका अनुसार राष्ट्रिय टिमका खेलाडीले बनाएको प्रति रनको एक सय, प्रति विकेटको एक हजार र प्रति डट बलको एक सय रुपैया घोषणा गरिएको हो ।

प्रतियोगिता सम्पन्न पछि घोषणा अनुसारको नगद पुरस्कार राष्ट्रिय टिमलाई एकमुष्ठ हस्तान्तरण गरिने खड्गीले जानकारी दिए । राष्ट्रिय टिमका खेलाडीलाई हौसला बढाउन युवा व्यवसायी मिलेर उक्त पुरस्कार प्रदान गर्न लागिएको खड्गीको भनाई छ ।

खड्गी श्रेष्ठ होटल एण्ड रेसिडेन्सीका संचालक हुन भने खरेल निर्माण व्यवसायी र गुप्ता खाद्य व्यवसायी हुन् ।

प्रतिक्रिया दिनुहोस्