मध्य र पश्चिम तराईमा ३ दिन ताताे हावाकाे लहर चल्ने सम्भावना


eShilalekh

२९ जेष्ठ २०८१, मंगलवार १४:२९

सिमरा: मध्य र पश्चिम तराईका जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावाको लहर चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन निकालेर आउँदो पर्सि ३१ गते बिहीवारसम्म मध्य र पश्चिम तराईका जिल्लामा तातो हावा र तातो हलर चल्ने सक्ने चेतावनी दिएको हो । यी क्षेत्रमा अत्यधिक गर्मीकाे सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार मध्य र पश्चिम तराईका केही ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि रहेको छ । पूर्वी क्षेत्रसहित बाग्मती, मधेश प्रदेशका जिल्लाको तापक्रम भने कम छ । अत्यधिक गर्मीका कारण तराई, मधेशसहित देशका विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

यसैबीच यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन अगाडि नै हिजो नेपाल भित्रिएको छ । नेपालमा सरदर जुन १३ मा मनसुन प्रवेश गर्ने भए पनि यसपालि तीन दिन अगाडि आइपुगेको हो । पूर्वी भेगबाट प्रवेश गरेको मनसुन बिस्तारै अन्य भू–भागतिर अगाडि बढ्ने छ । विभागले यस वर्ष सरदरभन्दा ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म बढी पानी पर्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्