विकल रेग्मी स्मृति जुनियर फूटबलः वडा नं. ११ ले उचाल्यो उपाधि


eShilalekh

३१ बैशाख २०८२, बुधबार १८:१९

सिमराः प्रथम विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिताको मंगलवार सम्पन्न फाइनल खेलमा निजगढ वडा नं. ११ ले उपाधि उचालेको छ । शहिद हिरालाल रंगशालामा भएको खेलमा वडा नम्बर ४ लाई सडन डेथमा पराजित गर्दै वडा नम्बर ११ ले उपाधि हात पारेको हो ।

निर्धारित समयमा गोल रहित बराबरी खेलेका दुबै टोलीले टाइब्रेकरमा पनि बराबर ४/४ गोल गरेपछि खेल सडन डेथमा धकलिएको थियो । सडन डेथमा विकास गुरोको प्रहारले जाली चुमेपछि वडा नम्बर ११ ले उपाधि माथि कब्जा जमाएको हो ।

प्रतियोगिताको विजेताले ५१ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेताले ३१ हजार नगदसहित ट्रफी प्राप्त गरेको छ । प्रतियोगिको म्यान अफ दि म्याच वडा नम्बर ४ का रोहन वाइवा घोषित भएका छन् भने सर्वोत्कृष्ट खेलाडीको उपाधि वडा नम्बर ११ का राहुल धामीले प्राप्त गरेका छन ।

यसैगरी वडा नम्बर ४ का समिर कुँवरले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरेका छन । उत्कृष्ट गोल रक्षकको उपाधि वडा नम्बर ११ का प्रविण गुरो, सर्वोत्कृष्ट गोलरक्षक वडा नम्बर ११ का सकिल कुँवर र उदीयमान खेलाडीको उपाधि वडा नम्बर ७ का सागर बुढाथोकीले प्राप्त गरेका छन ।

प्रतियोगिताका विजयी टिम तथा खेलाडीहरुलाई मधेस प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपपप्रमुख सोममाया थिङ्ग, स्वर्गीय विकल रेग्मीकी आमा कमला, पिता जयन्तलगायतले ट्रफी र पुरस्कार वितरण गरेका थिए ।

निजगढ नगरपालिकाको आयोजनामा र नगर खेलकुद विकास समितिको व्यवस्थापनमा भएको सो प्रतियोगिता निजगढ नगरका १३ वटा वडाका टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्