निजगढमा भोलिदेखि नगरस्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिता हुँदै

सिमराः निजगढमा शनिबार (भोलि) देखि प्रथम निजगढ नगरस्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । निजगढ नगरपालिकाको नगर खेलकुद समितिको आयोजना र निजगढ क्रिकेट क्लबको व्यवस्थापनमा पहिलोपटक प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रतियोगितामा निजगढका ९ वटा सामुदायिक र संस्थागत माध्यमिक विद्यालयहरूले सहभागिता जनाउने भएका छन् । निजगढ ६ स्थित जनसृजनशील सामुदायिक वन उपभोक्ता समूहको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार नगद प्राप्त गर्नेछ । प्रतियोगिताको प्लेयर अफ दि सिरिज, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलरलाई समेत पुरस्कृत गरिनेछ ।