जीतपुरसिमरा क्रिकेट कपः युनाईटेड क्रिकेट क्लब बिजयी, आयोजक पराजित

सिमराः जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा वीरगन्जको युनाईटेड क्रिकेट क्लब बिजयी भएको छ । वीरगन्जले आयोजक जीतपुरसिमरा स्पोर्ट्स क्लबलाई आठ विकेटले पराजित गरेको हो ।
जितसंगै समूह ‘ए’ मा रहेको वीरगन्जले दुई अंक बटुलेको छ । आयोजक भने दुई पराजयसंगै प्रतियोगिताबाट बाहिरिएको छ । आयोजक यसअघि गरुडा नगरपालिका रौतहटसंग १४ रनले पराजित भएको थियो । यस समूहबाट फाइनल प्रवेशका लागि अब वीरगन्ज र रौतहट भिड्नेछन् ।
सेज क्रिकेट मैदानमा टस जितेर वीरगन्जविरुद्ध ब्याटिङ गरेको आयोजकले निर्धारित २० ओभरमा एक सय ६ रन बनाएको थियो । आयोजकका दुबै ओपनर डकआउट हुँदै पेभेलियन फर्किएका थिए ।
आयोजकका लागि अजय पटेलले ३१, विशाल चौलागाईंले २६ र सोहन साहले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
आयोजकले दिएको एक सय सात रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको वीरगन्जले १४.४ ओभरमै दुई विकेट गुमाएर जित हात पार्यो । ओपनर सन्तोष कार्कीलाई डकआउटमा गुमाएको वीरगन्जका लागि इमरान शेखले अविजित ५१ रन बनाए । यसैगरी नितेश गुप्ताले ४१ रन जोडे ।
वीरगन्जविरुद्ध सात जना बलरलाई प्रयोग गरेको आयोजकका लागि विशाल चौलागाईं र आशिफ शेखले एक÷एक विकेट लिए । खेलको प्लेयर अफ दि म्याच इमरान शेख घोषित भए ।
प्रतियोगिता अन्तर्गत मंगलबार समूह ‘बी’ मा रहेको पर्सा क्रिकेट संघ र मकवानपुर क्रिकेट संघबीच खेल हुनेछ । पर्साले प्रतियोगिताको पहिलो खेल खेल्दैछ भने मकवानपुर दोस्रो खेल खेल्न मैदानमा उत्रनेछ ।
मकवानपुरले यसअघि आइतबार बारा क्रिकेट संघसंग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा बारा सात विकेटले बिजयी भएको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा जीतपुरसिमरा स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।