जीतपुरसिमरा क्रिकेट कपः उपाधिका लागि बारा र गरुडा नगरपालिका भिड्ने

सिमराः जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिताको उपाधिका लागि बारा जिल्ला क्रिकेट संघ र गरुडा नगरपालिका रौतहट भिड्ने भएका छन् ।
सिमरास्थित सेज क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७१ रनले पराजित गर्दै बारा फाइनलमा प्रवेश गरेको हो । रौतहटको गरुडा नगरपालिका यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।
दोस्रो सेमिफाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको बाराले १९.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै एक सय ५४ रन बनाएको थियो । बाराका लागि साहिल पटेलले सर्वाधिक ४० र आदिल अंसारीले २७ रन बनाएका थिए । पर्साका बलर वसिम मन्सुरीले तीन विकेट लिँदा सम्साद मन्सुरी, अजित चौहान र सोनु कुशवाहाले समान २/२ विकेट लिए ।
बाराले दिएको एक सय ५५ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको पर्सा ८३ रनमै समेटियो । पर्साका लागि अक्युइब अन्सारीले २४ र महम्मद समीरले २१ रन बनाए । बाराका लागि कप्तान अरनिको यादव र रोहन साहले समान ३/३ विकेट लिए । यसैगरी निखिल सिंहले दुई र सिराज हवारीले एक विकेट हात पारे ।
खेलको प्लेयर अफ दि म्याच बाराका कप्तान अरनिको यादव घोषित भए । यादवलाई नेकपा एमालेका स्थानीय नेता पूर्णचन्द्र तिमिल्सिना र रवीन्द्र खकुरेलले पुरस्कृत गरेका थिए ।
बाराले अब उपाधिका लागि रौतहटसंग शनिबार भिड्नेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जीतपुरसिमरा स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगिताको उपाधि विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछ ।