दोस्रो करैयामाई गोल्डकपः सिमराको नव जनजागृति फाइनलमा, एपीएफसंग उपाधि भिडन्त गर्ने

सिमराः नव जनजागृति युवा क्लब सिमरा दोस्रो करैयामाई गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । उमजन खेल मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा बारा ११ लाई टाईब्रेकरमा ४–३ ले पन्छाउँदै सिमरा फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निकालिएको थियो । खेलको प्लेयर अफ दि म्याच नव जनजागृतिका गोलरक्षक युनेश चौधरी घोषित भए ।
फाइनल प्रवेश गरेको सिमराले अब उपाधिका लागि एपीएफ बर्दिबाससंग शनिबार खेल्नेछ । आयोजक नव जनप्रगति क्लबलाई १–० ले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरिसकेको छ ।
करैयामाई गाउँपालिकाको सहयोगमा नव जन प्रगति युवा क्लबले आयोजना गरेको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३० हजार नगद प्राप्त गर्नेछन् ।