शहीद थिरबहादुर खड्का स्मृति क्रिकेट कपको उपाधि सिमरा पब्लिकलाई

सिमराः शहीद थिरबहादुर खड्काको स्मृतिमा स्थापित अन्तर विद्यालय क्रिकेट कपको उपाधि सिमरा पब्लिक स्कुलले उचालेको छ । लोटस एकेडेमी सिमरालाई १३ रनले पराजित गर्दै सिमरा पब्लिकले पहिलो संस्करणको उपाधि उचालेको हो ।
सेज क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सिमरा पब्लिकले आठ विकेटको क्षतिमा ९१ रन जोडेको थियो । सिमरा पब्लिकका लागि सक्षम यादवले २३ र फरहान अंसारीले २४ रन बनाए । लोटसका बलर अभिशेक साहले दुई विकेट लिए ।
सिमरा पब्लिकले दिएको ९२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको लोटस ७८ रनमै समेटियो । लोटसका लागि कप्तान राजा बाबु दासले १३ र जेम्स चौधरीले १२ रन बनाए । लोटसविरुद्ध सिमरा पब्लिकका फरहान अंसारीले चार र आशिष मण्डलले दुई विकेट लिए ।
प्रतियोगिताको प्लेयर अफ दि सिरिज लोटसका राजाबाबु दास घोषित भए । फाइनल खेलको प्लेयर अफ दि म्याच सिमरा पब्लिकका फरहान अंसारी घोषित भएका छन् ।

प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, नेकपा एमाले नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाह, नेपाली कांग्रेस नगर सभापति छविलाल शर्मा, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष प्रेम बराल, वडा नं. ४ का वडाध्यक्ष एव्म नगर प्रवक्ता भोजबहादुर खत्रीलगायतले पुरस्कार वितरण गरेका थिए ।
जीतपुरसिमरा उपमहानगरपालिका र वडा नं. ४ को कार्यालयको सहयोगमा सिमरा क्रिकेट क्लबले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।
सिमरा क्रिकेट क्लबका कार्यबाहक अध्यक्ष सुशिल चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रदीप गौतमले गरेका थिए ।
