नेपाल अल्पविकसित देशबाट विकासशील देशमा रुपान्तरित हुँदैछः प्रधानमन्त्री ओली

सिमरा: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अबको एक वर्षमा अल्पविकसित देशबाट विकासशील देशमा रुपान्तरित हुने बताएका छन् । बाराको परवानीपुरस्थित परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा भईरहेका विकास निर्माणका कामले अबको एक वर्षमा नेपाल विकासशील देश बन्ने बताएका हुन् ।
सडक, पुल, विद्यतुतिकरण, सञ्चार, कृषी, सिचाइँ, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा वर्तमान सरकारले प्राथमिकताका साथ काम गरिरहेको ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले विकासको गतिलाई अझ तिव्रताका साथ अघि बढाउने सरकारले नीति लिएको पनि स्पष्ट पारेका छन् ।
`केही पनि भएन भन्ने कुरा होईन, धेरै भएको छ । तर गर्न खोजेको जति भएको छैन’ प्रधानमन्त्री ओलीले भने ‘लामो समयको अस्थिरताले नेपालमा हुनुपर्ने विकासका काम भएन । तर अहिले यो सरकारले अस्थिरता अन्त्य गर्दै देशलाई स्थिरता र स्थायीत्वतर्फ लगेर विकासको गतिलाई अघि बढाउने काममा ध्यान केन्द्रीत गरेको छ ।’
सात बुँदे सम्झौता अनुसार बनेको नेकपा एमाले र नेपाली कांग्रेसले अन्य पार्टीलाई समेत सामेल गर्दै संयुक्त सरकार बनाएर काम गरिरहेको प्रधानमन्त्री ओलीको भनाई थियो । ‘पार्टीलाई काम गर्न नदिने, अस्थिरता खडा गरिदिने, सरकारलाई काम गर्न नदिने । सरकार र प्रतिपक्षको यथार्थ भूमिकामा बस्न नचाहने जस्ता प्रवृत्ति देखा परे’ प्रधानमन्त्रीले ओलीले भन्नुभयो ‘अहिले त्यो अस्थिरता अन्त्य गरेर हामी देश विकासको गतिलाई अघि बढाउने काम गरिरहेका छौं ।’ प्रधानमन्त्री ओलीले एक वर्षमा मात्रै देशमा धेरै काम भएको बताउनुभयो ।