अमेरिकाको टेक्सासमा सामूहिक दर कार्यक्रम सम्पन्न

टेक्सास (अमेरिका): हरितालिका तीजको अवसरमा अमेरिकाको टेक्सासस्थित युलेसमा रहेको पशुपतिनाथ मन्दिरमा सामूहिक दर तथा नाचगान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष सिता सापकोटाको अध्यक्षतामा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले आयोजना गरेको कार्यक्रममा नेपाली महिलाको उत्साहजनक सहभागिता रहेको थियो। महिलाहरूले दरका परिकार स्वाद लिएर नाचगान गर्दै पर्वलाई रमाइलो ढंगले मनाए।
कार्यक्रमलाई सफल बनाउन केन्द्रका पदाधिकारी र स्वयंसेवकहरूले विशेष तयारी गरेका थिए। केन्द्रको आफ्नै भान्छामा परिकार पकाइएका थिए भने महाप्रसाद संयोजक अच्युत थापाको नेतृत्वमा स्वयंसेवकहरूले सहभागी महिलालाई दर खुवाएका थिए।
अध्यक्ष सापकोटाले प्रवासमा बसेर पनि नेपाली संस्कार, संस्कृति र परम्पराको जगेर्ना गर्न कार्यक्रमको आयोजना गरिएको बताइन्। उनले भनिन् ‘नेपाल छोडेर कर्मभूमिमा भए पनि हाम्रो कला, संस्कृति र परम्परालाई निरन्तरता दिन यो कार्यक्रमले ठूलो योगदान पुर्याएको छ। यसले प्रवासमा रहेका दिदीबहिनीहरूलाई माईतिघरको अनुभूति समेत गराएको छ।’
उनले कार्यक्रममा सक्रिय सहभागिता जनाउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी वर्षहरूमासमेत मन्दिरमा सामूहिक दर कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्।
कार्यक्रममा सहभागी महिलाहरूले पनि प्रवासमै मायालु वातावरण सिर्जना गरेर तीज मनाउन पाएकोमा खुसी व्यक्त गरे। उनीहरूले आयोजक तथा सहयोगीप्रति आभार प्रकट गर्दै माईतिको आगनमा बसेझैं रमाइलो अनुभव भएको बताए।