बारा क्रिकेट संघलाई नेशनल इन्फोटेक कलेजले प्रायोजन गर्ने

सिमराः वीरगन्जको नेशनल इन्फोटेक कलेजले बारा क्रिकेट संघलाई मुख्य प्रायोजन गर्ने भएको छ । वीरगञ्जमा शुक्रबारआयोजित कार्यक्रममा बारा क्रिकेट संघका अध्यक्ष प्रभातकुमार चौरसिया र नेशनल इन्फोटेक कलेजका निर्देशक मनिष सिंहबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार इन्फोटेक कलेजले बारा क्रिकेट टिमलाई आर्थिक सहयोगसँगै जर्सी, खेल पोशाक र क्रिकेट सामग्री उपलब्ध गराउनेछ। सम्झौता रकम भने सार्वजनिक गरिएको छैन । सम्झौता अवधिभर बारा क्रिकेट टिमले अब एक वर्ष नेशनल इन्फोटेकको लोगो रहेको जर्सी लगाउनेछ।
सो अवसरमा बारा क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको थियो । राष्ट्रिय टिमका सदस्य समेत रहेका बाराका कप्तान अनिल साह, पवन सर्राफ, यु-१९ राष्ट्रिय क्रिकेटर साहिल पटेल, निरज यादव, अरनिको यादवले नयाँ जर्सी सार्वजनिक गरेका थिए ।
सम्झौता समारोहमा नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई पूर्व कप्तान विनोद दास र पवन अग्रवाल, मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ र कोषाध्यक्ष सुवास जयसवाललगायतको उपस्थिति थियो।
कार्यक्रममा अध्यक्ष चौरसियाले नेसनल इन्फोटेक कलेजलाई धन्यवाद दिँदै सम्झौताले खेलाडीलाई ठूलो हौसला मिलेको बताए। इन्फोटेक कलेजका निर्देशक सिंहले बारा जिल्लाले राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा ठूलो योगदान पुर्याएको बताए। सिंहले सम्झौता भएको भन्दा अतिरिक्त सहयोगका लागि पनि आफू तयार रहेको र त्यसका लागि खेलाडीको प्रदर्शन उच्च हुनुपर्ने बताए ।
नेपाल क्रिकेट संघका म्यानेजर समेत रहेका दासले सम्झौताले क्रिकेटलाई थप प्रोत्साहन दिने बताए । अर्का पूर्व कप्तान पवन अग्रवालले सम्झौताले बारा क्रिकेटको माहोल अझ मजबुत हुने विश्वास व्यक्त गरे ।
बारा क्रिकेट टिम हालै सम्पन्न मधेश क्रिकेट लिग र प्रधानमन्त्री कप मधेश प्रदेश छनोटको विजेता टिम हो । बारा जिल्लाबाट अनिल शाह, पवन सर्राफ, मोहम्मद आदिल आलम, अलिशा यादव, साहिल पटेल र निरज यादवजस्ता खेलाडी राष्ट्रिय टिमसम्म पुगेका छन् ।