एपीएफ फाइनलमा प्रवेश, उपाधिका लागि आर्मीसंग भिड्ने

सिमराः बलियो प्रतिद्धन्दी नेपाल पुलिस क्लबमाथि फराकिलो जित निकाल्दै सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लब बाराको सिमरामा जारी नेपोभिट अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
सिमरा रंगशालामा शनिबार राति भएको दोस्रो सेमिफाइनल खेलमा पुलिसलाई ५–२ ले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।
एपीएफले अब उपाधिका लागि सोमबार त्रिभूवन आर्मी क्लबसंग फाइनल खेल्नेछ । रौतहट जिल्ला फुटबल संघलाई ८–० ले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरिसकेको छ ।
आर्मीसंगको फाइनल भेट पक्का गर्ने क्रममा एपीएफका लागि रश्मीकुमारी घिसिङले दुई, कप्तान अनिता बस्नेत, निशा थोकर र अनिता केसीले समान एक–एक गोल गरे ।
पुलिसका लागि भने रेखा पौडेलले एक गोल फर्काएकी थिईन् भने एक गोल आत्मघाती भएको थियो । खेलको प्लेयर अफ दि म्याच मनमाया दमाई घोषित भईन् । उनले पाँच हजार नगद हात पारिन् ।
सिमरा भेट्रान क्लबले आयोजना गरेको प्रतियोगिताको उपाधि विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार नगद प्राप्त गर्नेछ । प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिमको सहभागिता रहेको थियो ।