मधेशमा ३३ महिनामा तीन मुख्यमन्त्री फेरिए, सोनल बने मधेशको चौथो मुख्यमन्त्री

सिमराः मधेश प्रदेशसभामा पछिल्लो ३३ महिनामा तेस्रो पटक मुख्यमन्त्री फेरिएका छन् । २०७९ को प्रदेशसभाको निर्वाचनयता मधेशमा तेस्रो पटक सरकार फेरिएको हो ।
प्रदेशसभामा पछिल्लो पटक बुधबार लोसपाका नेता जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भएका छन् । लोसपासहित जसपा, जनमत, नेकपा माओबादी केन्द्र र नेकपा एकीककृत समाजवादीको समर्थनमा सोनल मुख्यमन्त्री बनेका हुन् ।
सोनल बारा क्षेत्र नं. ४(२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । २०७९ मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा सोनल १३ हजार ६ सय २६ मत प्राप्त गर्दै मधेश प्रदेशसभामा दोस्रोपटक निर्वाचित भएका थिए ।
यसअघि २०७४ सालको प्रदेशसभा निर्वाचनमा पनि सोनल १३ हजार एक सय १८ मत पाएर बिजयी भएका थिए । अघिल्लो पटकको प्रदेशसभामा सोनल भौतिक विकास तथा यातायात व्यवस्था मन्त्री बनेका थिए ।
सोनल बाराबाट मुख्यमन्त्री बन्ने दोस्रो नेता हुन् भने मधेशको चौथो मुख्यमन्त्री हुन् । यसअघि जसपा नेपालका सरोज यादव मधेशको दोस्रो मुख्यमन्त्री बनेका थिए । २०७९ सालको निर्वाचनमा बारा १(२) बाट १५ हजार नौ सय २७ मत प्राप्त गर्दै निर्वाचित भएका यादवलाई २०७९ पुष २७ गते प्रदेश प्रमुख हरिशंक मिश्रले मुख्यमन्त्री नियुक्त गरेका थिए ।
२०८१ जेठ २३ गते प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएपछि यादव पदमुक्त भएका थिए । यादव मधेश प्रदेशको पूर्वसभामुख समेत हुन् । २०७४ सालको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालबाट यादव १४ हजार दुई सय ६९ मत प्राप्त गर्दै निर्वाचित भएका थिए । प्रदेशसभामा निर्वाचित भएका यादव अघिल्लो कार्यकालमा सभामुख थिए ।
यादव नेतृत्वको सरकार ढलेपछि त्यसको दुई दिनपछि जेठ २५ गते डा. सिके राउत नेतृत्वको जनमतका सतिशकुमार सिंह मधेशको तेस्रो मुख्यमन्त्री बने । जनमतसहित विभिन्न ६ दलको समर्थनमा मुख्यमन्त्री बनेका सिंह नेतृत्वको सरकार चार सय ९४ दिनमा ढलेको हो ।
सिंहले असोज २८ गते प्रदेशसभामा राजीनामा दिएका हुन् । सिंह २०७९ सालको निर्वाचनमा सप्तरी २(१) बाट १६ हजार सात सय ३४ मत प्राप्त गर्दै प्रदेशसभामा निर्वाचित भएका थिए ।
सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सरकार गठनका लागि दावी पेश गर्न आहवान गरेपछि सोनलले विभिन्न पाँच दलको समर्थनमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुखबाट बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका सोनलले बिहीबार सपथ ग्रहण समेत गरेका थिए ।
मधेश प्रदेशसभामा सोनल चौथो मुख्यमन्त्री हुन् । सोनलअघि सिंह तेस्रो र यादव दोस्रो मुख्यमन्त्री बन्दा २०७४ सालको निर्वाचनमा पर्सा क्षेत्र नं. १(२) बाट निर्वाचित लालबाबु राउत मधेशको पहिलो र संस्थापक मुख्यमन्त्री बनेका थिए । तत्कालिन संघीय समाजबादी फोरमबाट निर्वाचित राउतले पाँच वर्ष मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । राउत २०७९ सालको निर्वाचनमा पनि सात हजार पाँच सय ४५ मत प्राप्त गर्दै जनता समाजवादी पार्टी नेपालबाट प्रदेशसभामा निर्वाचित भएका छन् ।
अघिल्लो कार्यकालमा पाँच वर्ष एउटै मुख्यमन्त्री रहेको मधेशमा यसपटक भने ३३ महिनामै तेस्रो मुख्यमन्त्री फेरिएका हुन् ।