एमाले जीतपुरसिमराको विस्तारित बैठकः २५ गतेको जनप्रदर्शन भव्य बनाउने निर्णय

सिमराः नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीको विस्तारित बैठक आइतबार सम्पन्न भएको छ । डुमरवानास्थित पार्टी कार्यालयमा बसेको विस्तारित बैठकले कार्तिक २५ गतेको पालिका स्तरीय जनप्रदर्शन भव्य बनाउने निर्णय गरेको छ ।
देशभरका पालिकामा जनप्रदर्शन गर्ने एमालेको केन्द्रीय कार्यक्रम अन्तर्गत जीतपुरसिमरा नगर कमिटीले कार्यक्रम गर्न लागेको हो । उक्त जनप्रदर्शनका लागि एमाले केन्द्रीय सचिव शंकर पोखरेलले पाँच बुँदे निर्देशन जारी गरेका गरेका थिए ।
निर्देशनअनुसार घनाबस्तीकाबीच प्रदर्शन गर्ने, प्रदर्शन छोटो र प्रभावकारी बनाउने, सानो आवाजको साउण्ड सिस्टम प्रयोग गर्ने, सामाजिक सञ्जालमा कार्यक्रम ब्यापक बनाउने र आवश्यकता अनुसार ब्यानर, प्लेकार्डको प्रयोग गर्ने रहेको छ । सोही निर्देशनलाई ध्यानमा राखेर एमाले जीतपुरसिमराले जनप्रदर्शन गर्ने नगर कमिटी अध्यक्ष त्रिलोकबिक्रम शाहले जानकारी दिए ।
एमाले केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका सचिव मनोज पौडेल, प्रदेश कमिटी सदस्य सुन्दर विक, किशोर शर्मा, चयन गुरुङ, सुभद्रा न्यौपाने, सीता सुवेदी, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, एमाले बाराकी उपसचिव भावना आचार्यसहित जिल्ला कमिटी, नगर कमिटी, वडा कमिटी, जनजंगठनका पदाधिकारी, निर्वाचित जनप्रतिनिधि र सदस्यको उपस्थिती रहेको थियो ।
नगर कमिटी अध्यक्ष शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव रवीन्द्रराज भण्डारीले गरेका थिए ।
एमालेले विगठित प्रतिनिधिसभा पुर्नस्थापनाको माग, जेनजी आन्दोलन घटनाको निष्पक्ष छानविन, जेनजी आन्दोलनका नाममा भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारवाहीलगायत विभिन्न माग राख्दै जनप्रदर्शन गर्न लागेको हो ।





