मधेश प्रदेशमा १६८(२) बमोजिम नयाँ सरकार गठन गर्न ६ दलको दवाव

सिमराः विभिन्न ६ राजनीतिक दलले आइतबार साँझ मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसंग भेट गर्दै संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनको आहवान गर्न माग गरेका छन् ।
निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलको पार्टी लोसपासहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता तथा सांसदले प्रदेश प्रमुखलाई भेटेर १६८(२) बमोजिम सरकार गठन आहवान गर्न माग गरेका हुन् ।
भेटमा प्रदेश प्रमुख भण्डारीले कानुनी परामर्शपछि प्रक्रिया अघि बढाउने जवाफ दिएको स्रोतले जनाएको छ । भेटपछि संचारकर्मीसंग प्रतिक्रिया दिँदै निवर्तमान मुख्यमन्त्री सोनलले १६८(२) बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया पूरा नहुँदै राजीनामा दिएकाले सोही धारा बमोजिम सरकार गठन हुनुपर्ने बताएका छन् ।
विश्वासको मत लिने क्रममा नेकपा माओवादी केन्द्रका सांसदले विद्रोह गरेपछि सोनल नेतृत्वको सरकार २५ दिनमै ढलेको थियो । विश्वासको मत पाउने स्थिती नभएपछि सोनलले शनिबार राजीनामा दिएका थिए । सोनलको राजीनामा स्विकृत गर्दै प्रदेश प्रमुखले अर्को व्यवस्था नभएसम्म १६९(३) बमोजिम सोनल नेतृत्वको सरकारलाई नै कार्यभार संचालन गर्न तोकेकी थिईन् ।
१६८(२) बमोजिम मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि १६८(३) बमोजिम सरकार प्रक्रिया अघि बढ्न सक्ने संकेत पाएको भन्दै ६ दलले दवाव दिएका हुन् । संविधानको धारा १६८(३) मा प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने भन्ने प्रावधान छ ।





