अक्षरा अन्तरविद्यालय महिला क्रिकेटः अक्षरा र एसपीईएस उपाधिका लागि भिड्ने

सिमराः प्रथम अक्षरा अन्तर विद्यालय महिला क्रिकेटको उपाधिका लागि आयोजक अक्षरा पाठशाला र सिमरा पब्लिक इङ्लिस स्कुल (एसपीईएस) भिड्ने भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहस्थित सेज क्रिकेट मैदानमा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा जित निकाल्दै दुबै टोली फाइनलमा प्रवेश गरेको हो ।
फाइनलमा प्रवेश गर्ने क्रममा आयोजक अक्षराले एक्स सर्भिसम्यान चिल्ड्रेन एकेडेमीलाई ६ रनले पराजित गरेको थियो भने एसपीईएसले पाथीभरा इङ्लिस स्कुललाई २८ रनले हराएको थियो ।
टस हारेर ब्याटिङको निम्तो पाएको अक्षराले निर्धारित १० ओभरमा दुई विकेट गुमाएर ७२ रनको जोडेको थियो । अक्षराका लागि आर्या विकले सर्वाधिक ३२ रन जोडिन् । एक्स सर्भिसम्यानका लागि रितिका श्रेष्ठ र अनुष्का ढकालले समान एक/एक विकेट लिए ।
७३ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको एक्स सर्भिसम्यानले तीन विकेटको क्षतिमा ६६ रन मात्रै बनायो । उसका लागि अनु वाइवाले १८ र रितिका श्रेष्ठले १६ रन जोडेपनि जितका लागि पर्याप्त भएन । अक्षराका लागि प्रिन्सा पौडेलले दुई विकेट लिईन् । खेलको प्लेयर अफ दि म्याच अक्षराकी आर्या विक घोषित भईन् ।
यसैगरी अर्को खेलमा टस जितेर ब्याटिङ रोजेको एसपीईएसले निर्धारित १० ओभरमा पाँच विकेट गुमाउँदै ७४ रन जोडेको थियो । एसपीईएसका लागि विनिशा लामिछानेले २९ र अनुष्का कार्कीले १५ रन जोडिन् । पाथीभराका लागि मनुजा खड्काले दुई र एन्जल पराजुलीले एक विकेट लिए ।
एसपीईएसले दिएको ७५ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको पाथीभराले निर्धारित १० ओभरमा पाँच विकेट गुमाएर ४६ रन मात्रै बनाउन सक्यो । पाथीभराकी मनुजा खड्काले १४ रन बनाईन् । बलिङतर्फ एसपीईएसकी विनिशा लामिछाने र हिमा भट्टराईले एक/एक विकेट लिए । खेलको प्लेयर अफ दि म्याच विनिशा लामिछाने घोषित भईन् ।
फाइनलमा पुगेका एसपीईएस र अक्षराबीचको फाइनल खेल शनिबार बिहान १० बजेपछि सेज क्रिकेट मैदानमा हुनेछ । अक्षरा पाठशालाको आयोजनामा जारी प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।





