नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आजबाट सुरु, साविक विजेता जनकपुर र काठमाडौँ भिड्दै

सिमराः नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजबाट सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलोपटक एनपीएल हुन लागेको हो ।
नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको शुभारम्भ अपरान्ह २ बजे हुने छ भने पहिलो खेल ४ बजे खेलाइने छ ।
उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् ।
त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो सम्स्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ ।
प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरूप रु एक करोड १० लाख प्रदान गरिनेछ भने उपविजेता टोलीले रु ५१ लाख प्राप्त गर्नेछ । यसैगरी प्रतियोगितामा तेस्रो स्थान प्राप्त गर्नेले रु २५ लाख तथा चौथो स्थान प्राप्त गर्ने टोलिले रु १५ लाख प्राप्त गर्नेछ ।
यसअघि जनकपुर बोद्यट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो ।
एनपिएलमा साविक विजेता जनकपुरसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बीनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।





