सिमरामा भलिबल क्रेज, एकैदिन दुई प्रतियोगिता सुरु


eShilalekh

१६ मंसिर २०८२, मंगलवार १८:५९

सिमराः सिमरामा मंगलबार दुई विद्यालयले एकैदिन छुट्टाछुट्टै अन्तरविद्यालय भलिबल प्रतियोगिता सुरु गरेका छन्। सिमरास्थित एकता स्कुलले महिला भलिबल प्रतियोगिता र पाथीभरा इङ्लिस स्कुलले पुरुष भलिबल प्रतियोगिता प्रारम्भ गरेको हो।

महिला भलिबल प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले गरे भने पुरुषतर्फ उपप्रमुख भोलाप्रसाद अधिकारीले खेल शुभारम्भ गराए। दुवैले भलिबल खेललाई नगरमा स्थापित गर्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

एकतामा आयोजित महिला भलिबल ।

महिला तर्फको उद्घाटन खेलमा आयोजक एकता स्कुलले अक्षरा पाठशालालाई २५-६, २५-० को सोझो सेटमा पराजित गर्‍यो। खेलको ‘प्लेयर अफ दि म्याच’ प्राप्ति अधिकारी घोषित भइन्। दोस्रो खेलमा सेन्ट जोन्स एकेडेमीले एक्स सर्भिसम्यान चिल्ड्रेन एकेडेमीलाई २५-१०, २५-५ ले हरायो। प्रशंसा पौडेल ‘प्लेयर अफ दि म्याच’ बनिन्।

महिला प्रतियोगिता मंसिर २१ गतेसम्म चल्नेछ। प्रतियोगितामा एकता, अक्षरा, सेन्ट जोन्स, एक्स सर्भिसम्यान, सिमरा पब्लिक, राष्ट्रिय विभूति, लोटस, पाथीभरा, मिसन र होली गार्डेन गरी १० टोली सहभागी रहेको प्रिन्सिपल मदन रिजालले जानकारी दिए ।

पाथीभरामा आयोजित पुरुष भलिबल ।

त्यस्तै पाथीभरा स्कुलले आयोजना गरेको चौथो पुरुष भलिबल प्रतियोगितामा पहिलो दिन आयोजक पाथीभराले होली गार्डेनलाई २५-१६, २५-१९ ले पराजित गर्‍यो। पाथीभराका प्रथम कलवार ‘प्लेयर अफ दि म्याच’ बने। अर्को खेलमा अक्षरा पाठशालाले सेन्ट जोन्स एकेडेमीलाई लगातार २५-१६ को सेटमा हरायो। रिजन घलान ‘प्लेयर अफ दि म्याच’ घोषित भए।

पुरुष प्रतियोगिता मंसिर २० गतेसम्म चल्नेछ। प्रतियोगितामा पाथीभरा, होली गार्डेन, एक्स सर्भिसम्यान, अक्षरा, सेन्ट जोन्स, राष्ट्रिय विभूति, एकता, स्नो एपेक्स, मिसन र लोटस सहभागी रहेको प्रिन्सिपल लक्की रिमालले जानकारी दिए ।

उद्घाटन समारोहमा एनप्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी, सिमरा डुमरवाना हबका संयोजक बसन्त ढकाल, सिमरा खानेपानीका सचिव अमृत बस्याल, विभिन्न विद्यालयका प्रिन्सिपललगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्