बारामा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरु

सिमरा: स्कुले बालबालिकालाई फुटबलप्रति आकर्षित गर्ने उद्देश्यसहित अखिल नेपाल फुटबल संघ (एन्फा) ले बारामा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरु गरेको छ। बारा जिल्ला फुटबल संघको समन्वयमा मंगलबार सिमरा रंगशालामा आयोजित कार्यक्रममा एन्फाले १७ वटा विद्यालयलाई फुटबल हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेको हो।
एन्फा केन्द्रीय उपाध्यक्ष दावा लामाले सहभागी विद्यालयका प्रतिनिधिहरूलाई फुटबल हस्तान्तरण गर्दै कार्यक्रमले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रमको मुख्य उद्देश्य विद्यालयहरूलाई फुटबल सामग्री उपलब्ध गराउने र विद्यार्थीहरूको फुटबलप्रतिको रुचि बढाउने रहेको लामाले बताए।
उपाध्यक्ष लामाले खेलाडी उत्पादनभन्दा पनि विद्यार्थीहरू स्वस्थ, सक्रिय र अनुशासित बनाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको बताएका छन् । साना बालबालिका मोबाइल र डिजिटल गतिविधिमा बढी व्यस्त हुने प्रवृत्ति देखिएकाले उनीहरूलाई खेलकुदतर्फ आकर्षित गर्न यो कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो।
१४ वर्ष मुनिका विद्यार्थीलाई लक्षित गरी विश्व फुटबल महासंघ (फिफा) ले विश्वभर सञ्चालन गरिरहेको यो कार्यक्रम हाल १३७ देशमा लागू भइसकेको छ। सोही कार्यक्रमअन्तर्गत नेपालका ७७ जिल्लाका १९३ विद्यालयमा ‘फिफा फुटबल फर स्कुल’ सञ्चालन हुँदै आएको छ।
फिफाले यस कार्यक्रमका लागि नेपाललाई ३३ हजार ६ सय ४० थान फुटबल उपलब्ध गराएको छ। एन्फाले फिफाबाट प्राप्त फुटबल देशभरका विद्यालयमा वितरण गरिरहेको छ। कार्यक्रमले विद्यालयस्तरमा फुटबल संस्कृतिको विकास गर्दै भविष्यका लागि स्वस्थ पुस्ता तयार पार्ने अपेक्षा गरिएको बारा जिल्ला फूटबल संघका अध्यक्ष रामचन्द्र लामाले बताए ।
लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघको मधेश प्रदेशका कोषाध्यक्ष शम्भुसिंह ठकुरी, मधेश प्रदेशका महासचिव दीपक साह, बारा जिल्ला फूटबल संघका महासचिव रामकृष्ण श्रेष्ठ, जिल्लाका अन्य पदाधिकारी, विभिन्न विद्यालयका प्रतिनिधिको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउँलेले गरेका थिए ।





