बुहारी हत्या प्रकरण: ससुरा र दाइ पुर्पक्षका लागि कारागार चलान


eShilalekh

९ पुष २०८२, बुधबार १५:०२

रौतहट: रौतटहको बृन्दावन नगरपालिका ९ भुसाहा टोलमा १८ वर्षीया बुहारीको हत्या गरी शव घरभित्रै गाडेको अभियोगमा पक्राउ परेका दुई जनालाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।

अदालतले ७५ वर्षीय शेख महमद अली र उनका सहोदर दाइ शेख आश महमदलाई कारागार चलान गर्ने निर्णय गरेको हो। उनीहरू मृतक तरिमा खातुनका ससुरा पक्षका सदस्य हुन्। तरिमा खातुन गत मंसिर ८ गते रातिदेखि बेपत्ता भएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार २०८२ मंसिर ९ गते बिहान करिब ८ बजे गुजरा नगरपालिका ७ का शेख ताज महमदले आफ्नी छोरी तरिमा खातुन ससुराली पक्षबाट लामो समयदेखि शारीरिक तथा मानसिक यातना भोग्दै आएको र मंसिर ८ गते रातिदेखि सम्पर्कविहीन भएको भन्दै प्रहरीमा जानकारी गराएका थिए। सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको संयुक्त प्रहरी टोलीले तरिमाको ससुराली घरमा खोजतलास सुरु गरेको थियो।

खोजीका क्रममा घरका सदस्यहरू अनुपस्थित देखिनुका साथै घरभित्र शंकास्पद अवस्था भेटिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा घरभित्रै जमिन खनजोत गरिएको स्थान फेला परेपछि उत्खनन गर्दा करिब पाँच फिट तल बोरा पोको पारिएको अवस्थामा तरिमा खातुनको शव फेला परेको प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्न भएको आरोपमा मृतकका ससुरा शेख महमद अली र उनका सहोदर दाइ शेख आश महमदलाई मंसिर १० गते पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत रौतहट जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतले मंगलबार सुनुवाइपछि दुवै प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्