दलितमाथि आगजनी र कुटपिट घटनामा राष्ट्रिय दलित आयोगको अनुगमन


eShilalekh

११ पुष २०८२, शुक्रबार १३:४५

वीरगन्ज: पर्साको बहुदरामाई नगरपालिका २ सिसियाडी गाउँमा बाटो विवादका क्रममा दलित समुदायमाथि भएको आगजनी र कुटपिट घटनाको राष्ट्रिय दलित आयोगले स्थलगत अनुगमन गरेको छ।

आयोगका अध्यक्ष देवराज विश्वकर्मा, सदस्य तथा मधेश प्रदेश संयोजक सुन्दर पुकुर्टीसहितको टोलीले घटनास्थल पुगेर पीडित परिवारसँग भेटघाट गरेको हो। अनुगमन टोलीले प्रमुख जिल्ला अधिकारी भोला दहाल र प्रहरी उपरीक्षक सुदिपराज पाठकसँग छलफल गरी घटनाको विस्तृत जानकारी लिएको छ।

पीडित भागरित पासवानका अनुसार निजी नम्बरी जग्गामा बाटो दिन अस्वीकार गरेकै कारण विपक्षी समूहले पेट्रोल छर्केर घरमा आगजनी गर्नुका साथै उनी र उनकी श्रीमती मिना देवीमाथि कुटपिट गरेका थिए। आगलागीबाट घरभित्र रहेको अन्न, नगद, गरगहना, कपडा तथा घर संरचनामा समेत गरी लाखौं रुपैयाँ बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ।

अनुगमनपछि आयोगका अध्यक्ष विश्वकर्माले दलित समुदायमाथि भएको यस प्रकारको हिंसा गम्भीर र निन्दनीय रहेको बताउँदै दोषी जो कोही भए पनि कानुनअनुसार कडा कारबाही गर्नुपर्नेमा जोड दिए। उनले पीडित परिवारको सुरक्षा, उपचार र क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न प्रशासनलाई निर्देशन दिएका छन्।

त्यसैगरी आयोगका सदस्य तथा मधेश प्रदेश संयोजक सुन्दर पुकुर्टीले घटनाले समाजमा अझै जातीय विभेद कायम रहेको स्पष्ट देखाएको बताए। यस्ता घटनालाई सामान्य रूपमा लिन नहुने भन्दै उनले प्रहरी र प्रशासनलाई निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आग्रह गरे। आयोगले पीडितलाई न्याय दिलाउन सबै तहमा पहल गर्ने र घटनाको अनुगमन निरन्तर गर्ने जनाएको छ।

दलित अभियन्ता मनोज रामको पहलमा आयोगको टोली घटनास्थल पुगेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्