बारामा लागूऔषध अफिमसहित तीन जना पक्राउ


eShilalekh

१३ पुष २०८२, आईतवार १३:०९

सिमराः बाराको कोल्हवीबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला रौतहट चन्द्रपुर नगरपालिका १० का ३२ वर्षीय राजेश साह, २९ वर्षीय नागेन्द्र साह र २२ वर्षीय ज्ञानेन्द्र राम रहेका छन् ।

इलाका प्रहरी कार्यालय कोल्हवी बारा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले कोल्हवी नगरपालिका १ स्थित तामागढीबाट श्रीपुरतर्फ आउँदै गरेको प्र.२–०३–००५प ६३१२ नम्बरको टीभीएस मोटरसाइकल रोकी जाँच गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उक्त मोटरसाइकल जाँच गर्दा सवार राजेश साहको साथबाट चार सय ६० ग्राम लागूऔषध बरामद भएको हो ।

बरामद लागूऔषध, मोटरसाइकल र पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्